काठमाडौं । एकअर्काका देशका नागरिकलाई आ–आफ्नै देशको क्वारेन्टाइनमा राख्ने नेपाल–भारतबीच सहमति पालना नभएको पाइएको छ ।
कोभिड–१९ (कोरनाभाइरस) का कारण गरिएको लकडाउनले गर्दा नागरिकहरुलाई आवतजावतमा समस्या भएको छ । सीमा बन्द गरिएको भएपनि लुकीछिपी सीमा पार गरिरहेको खबर आइरहेको छ । गत वैशाख २ गते सिरहाको औरही गाउँपालिकास्थित इटाटार नाका हुँदै ६ जना नेपाली राति १ बजे नेपाल छिर्न खोजे ।
उनीहरुलाई नेपालतर्फको सशस्त्र प्रहरीले देखेपछि लखेट्यो भने उनीहरु पुनः भारततिरै भागे । तैपनि नेपालका सशस्त्र प्रहरीले भित्रसम्म गइ उनीहरुलाई पक्राउ गर्यो र भारतीय भूमिमा पक्राउ गरिएका कारण त्यहीँका भारतीय एसएसबीलाई जिम्मा लगाइदिए ।
त्यसपछि एसएसबीले भारतको विहारस्थित मधुवनी जिल्लाको लदनियाँ थानालाई बुझाइदियो । तर लदनियाँ थानाले भारतको क्वारेन्टाइनमा नराखेर त्यही राति नै उनीलाई नेपालमा ल्याएर छाडिदिएको बताइएको छ।
उनीहरुलाई छाड्ने बित्तिकै पुनः नेपालका प्रहरीले पक्राउ गरेर औरही गाउँपालिकाको क्वारेन्टाइनमा लगेर बुझायो ।
दुई देशमा भएको सहमति अनुसार जसको भूमिमा जो छ, उसलाई त्यहीँको क्वारेन्टाइनमा राखेर खानपिन, स्वास्थ्य उपचारलगायतको व्यवस्था त्यही देशका सरकारले गर्नुपर्छ । तर आफूहरु भारत भूमिमा समातेर त्यहीँका एसएसबीलाई बुझाए पनि पुनः नेपालमा ल्याएर छाडिदिएको इटाटार सशस्त्र क्याम्पका इन्सपेक्टर देवेन्द्र रोक्काले बताए ।
यता नेपाल–भारत सीमा नाकामा नेपालतर्फ भारतीयहरुको भिडभाड बढ्दै गइरहेको छ । काठमाडौं, पोखरा, चितवनलगायतका ठाउँमा काम गर्ने भारतीय मजदुरहरु रातिराति हिँडेर सीमा नाकासम्म पुगेका छन् ।
भनसुन गरेर सीमा कट्न पाइन्छ कि भन्दै टाढा टाढाबाट विभिन्न नाकाहरुमा भारतीयहरु पुगेका छन् । उनीहरुले भारत जान पाउनुपर्छ भन्दै आइरहेका छन् तर उनीहरुलाई सशस्त्र सीमा सुरक्षा बलले रोकेर राखेको छ ।
बेलाबेलामा भारतबाट नेपाली छिर्न कोशिस भइरहेका हुन्छन् । विभिन्न बाहनामा नेपाल छिर्न चाहेका हुन्छन् । कतिपय सफल भएपनि पुनः समातिने गरेको उनी बताउँछन् । भारततर्फ सीमा नाकामा क्यामरा जडान गरिएको छ, त्यसबाट उनीहरुले निगरानी गरिरहेका हुन्छन्, कोही त्यसरी प्रयास गर्दा समातिने गरेको एसएसपी कुँवरले बताए ।
सीमा नाकाबाट लुकीछीपी नागरिकहरुको ओहोर दोहोर भइरहेको गुनासो बढेपछि अहिले थप जनशक्ति पठाएर सबै नाकामा थप कडाइ गरिएको छ ।
प्रतिक्रिया