एजेन्सी ।
कोरोना भाइरस (कोभिड-१९) संक्रमण झनझन् तीब्र बन्दै गएको छ।
गएको २४ घन्टामा यसको संक्रमणबाट विश्वभर झण्डै आठ हजारको मृत्यु भएको छ।
वल्र्डओमिटरका अनुसार बिहीबार बिहान सबा ६ बजेसम्मको तथ्यांकअनुसार २४ घन्टामा ७ हजार ९ सय ५९ जनाको मृत्यु भएको छ। ८४ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।
यो सँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर १ लाख ३४ हजार ५ सय ६० पुगेको छ । संक्रमितको संख्या २० लाख ८२ हजार ३ सय ७२ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ५ लाख १० हजार ४६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
गएको २४ घन्टामा कोरोना संक्रमणबाट सबैभन्दा बढी अमेरिकामा २४ सय ८२ जनाको मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म मृतकको संख्या २८ हजार ५ सय २९ र संक्रमितको संख्या ६ लाख ४४ हजार ८९ पुगेको छ ।
त्यहाँ बुधबार एकै दिन ३० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।
अमेरिकापछि गएको २४ घन्टामा फ्रान्समा धेरैको मृत्यु भएको छ । त्यहाँ एकै दिन १४ सय ३८ जनाले ज्यान गुमाएका छन् । फ्रान्समा मृतकको संख्या १७ हजार नाघेको छ । संक्रमितको संख्या एक लाख ४८ हजार नजिक पुगेको छ ।
त्यसैगरी युकेमा बुधबार ७ सय ६१ जनाको मृत्यु भएको छ। त्यहाँ मृतकको संख्या झण्डै १३ हजार र संक्रमितको संख्या एक लाख पुग्न लागेको छ ।
इटालीमा बुधबार ५ सय ७८ जनाको मृत्यु भएको छ । त्यहाँ मृतकको संख्या २१ हजार ६४५ पुगेको छ ।
त्यसैगरी स्पेनमा ५ सय ५७ जनाको मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म झण्डै १९ हजारको मृत्यु भइसकेको छ ।
त्यसैगरी जर्मनीमा बुधबार ३०९ जनाले ज्यान गुमाएका छन् भने बेल्जियममा २८३, ब्राजिलमा २२५, टर्कीमा ११५, नेदरल्यान्डमा १८९, स्वीडेनमा १७०, क्यानाडामा १०७, इरानमा ९८, मेक्सिकोमा ७४, स्वीटजरल्यान्डमा ६५ जनाको मृत्यु भएको छ ।
हाम्रो छिमेकी देश भारतमा बुधबार कोरोना संक्रमणबाट २९ जनाको मृत्यु भएको छ ।
त्यहाँ मृतकको संख्या ४ सय २२ पुगेको छ भने संक्रमितको संख्या १२ हजार नाघेको छ । अर्को छिमेकी देश चीनमा भने बुधबार कसैको मृत्यु भएन भने नयाँ संक्रमित पनि थपिएनन् ।
प्रतिक्रिया