१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

लकडाउनबाट बाहिर आउँदै यी युरोपेली देश



एजेन्सी ।
नेपालमा बन्दाबन्दी (लकडाउन)को अवधि बढाएर १५ वैशाखसम्म पुर्‍याइएको छ । २१ वैशाखसम्म बन्दाबन्दी गरेको भारतले वैशाख ८ गतेदेखि कृषि क्षेत्रलाई खुकुलो पार्ने भएको छ । तर, कोरोना भाइरसको संक्रमणका कारण बन्दाबन्दी गरिएका केही युरोपेली देश भने खुला हुन सुरु भइसकेका छन्।

अस्ट्रिया

एक महिना लामो बन्दाबन्दी विस्तारै खोल्ने क्रम अस्ट्रियाले साना पसलबाट सुरु गरेको छ। मंगलबार अस्ट्रियामा हजारौं साना पसलहरुले खोल्ने स्वीकृति पाए । क्रेता र विक्रेता दुबैलाई मास्क लगाउन अनिवार्य गरिएको छ । कपाल काट्ने पसल र ठूला मलहरु भने १ मे पछि मात्र खुल्नेछन्। त्यस्तै रेस्टूराँ र होटेल १५ मे पछि मात्र खुल्ने बताइएको छ ।

अस्ट्रियाको सरकारले संक्रमण फैलने दर कम भइसकेको भन्दै बन्दाबन्दीलाई विस्तारै खुला गर्दै जाने निर्णय गरेको हो ।

अस्ट्रियामा बुधबारसम्म संक्रमितको संख्या १४ हजार नाघेको छ । यिमध्ये ३९३ को मृत्यु भएको छ भने ८ हजार ९८ जना निको भइसकेका छन् ।

स्पेन

कोरोनाको कहर भोगिरहेको स्पेनमा सोमबारदेखि बन्दाबन्दी खुकुलो पारिएको छ । धेरै उद्योगहरु सञ्चालनमा आएका छन् । निर्माण र उत्पादन क्षेत्रका उद्योगहरुमा काम गर्ने श्रमिकहरु सुरक्षा सतर्कताका साथ काममा फर्केका छन् । बन्दाबन्दी खुकुलो पारिएका दिन रेडक्रसले रेलवे स्टेशनमा मास्क वितरण गरिरहेका थिए । स्पेनमा अत्यावश्यक वाहेकका कार्यालय भने खोल्न अझै दिइएको छैन ।

सरकारको यो निर्णयलाई प्रतिपक्षी दल र केही मजदूर संगठनले भने गैरजिम्मेवार भनेका छन् ।

स्पेनमा संक्रमितको संख्या १ लाख ७७ हजार नाघेको छ । यिमध्ये करिब ७१ हजार निको भइसकेका छन् भने मृतकको संख्या २१ हजार नाघेको छ ।

इटली

युरोपमा कोरोनाको केन्द्र मानिएको इटलीले लकडाउनलाई ४ मेसम्म लम्बाएको भए पनि मंगलबारदेखि पुस्तक र बच्चाका लुगाका पसलहरु परीक्षणका रुपमा खोलेको छ ।

यद्यपि, उत्तरी इटलीका केही स्थानीय सरकारहरुले यो निर्णय नमान्ने निर्णय भन्दै पसलहरु नखोल्न निर्देशन जारी गरेका छन् ।

६ सातासम्म पूर्ण बन्दाबन्दीको अवस्थामा रहेको इटलीले लकडाउन सतर्कतापूर्वक खुकुलो बनाउँदै जाने निर्णय गरेको हो ।

इटलीमा पनि पछिल्लो समय संक्रमण दर कम हुँदै गएको छ । इटलीमा बुधबारसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ६५ हजार नाघेको छ । यिमध्ये २१ हजार ६०० को मृत्यु भएको छ भने ३८ हजार ९२ निको भएर घर फर्किसकेका छन् ।

डेनमार्क

डेनमार्कमा बुधबारदेखि प्राथमिक विद्यालय र डे केयर खुलेका छन् । पाँच कक्षासम्मका विद्यार्थीलाई विद्यालय जान अनुमति दिइएको छ । तर, बालबालिकाबीच आपसी दूरी कायम गराउनका लागि विद्यालयलाई निर्देशन दिइएको छ ।

लकडाउनका अन्य प्रतिबन्धहरु भने कायमै रहने बताइएको छ । सरकारले अस्पतालमा बिरामीहरुको संख्या कम हुन थालेकाले अन्य प्रतिबन्धहरु पनि चाँडै हटाउन सकिने बताएको छ ।

डेनमार्कमा बुधबारसम्म संक्रमितको संख्या ६ हजार ६८१ पुगेको छ । यिमध्ये ३०९ को मृत्यु भएको छ भने २ हजार ७४८ निको भइसकेका छन् ।

चेक रिपब्लिक

चेक रिपब्लिकमा ८ अप्रिल अघि नै साइकल मर्मत, हार्डवेयर स्टोर, साजसज्जाका सामानजस्ता गैरजरुरी मानिने पसलहरु समेत खोल्न अनुमति दिएको थियो । ईस्टरपछि जुत्ता र किताब पसलहरु पनि खुलेका छन् ।

कृषी उत्पादनका बजार, कार शोरुम जस्ता व्यवसाय अर्को सातादेखि खोल्ने जनाएको चेज रिपब्लिकले १० जनासम्म सहभागी हुने विवाह समारोहलाई पनि स्वीकृति दिएको छ । विस्तारै सबै खाले साना पसलहरु खुलाउने निर्णय गरेको चेज रिपब्लिकले ठूला पसल, सिनेमा हल, रेस्टूराँ र होटेल भने करिब डेढ महिनापछि खोल्ने जनाएको छ ।

चेज रिपब्लिकमा बुधबारसम्म संक्रमितको संख्या ६ हजार २१६ पुगेको छ । यिमध्ये १६६ को मृत्यु भएको छ भने ८१९ निको भइसकेका छन् ।

फ्रान्स

युरोपका बाँकी देशभन्दा भिन्न फ्रान्सले भने ११ मेसम्म पूर्ण लकडाउन गर्ने निर्णय गरेको छ । त्यसपछि विस्तारै विद्यालयहरु खोल्न सुरु गरिने राष्ट्रपति म्याक्रोंले बताएका छन् । रेष्टूराँ, होटेल, थियटरहरु खुल्न भने जुलाई मध्यसम्म पर्खनुपर्ने उनको भनाई छ ।

फ्रान्समा बुधबारसम्म संक्रमितको संख्या १ लाख ४७ हजार ८६३ पुगेको छ । यिमध्ये १७ हजार १६३ को मृत्यु भएको छ भने ३० हजार ९५५ निको भएका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७७ बिहिबार ००:००  ७ : ३५ बजे