१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

लकडाउन खुकुलो पार्ने जर्मन चान्सलर मर्केलको घोषणा



एजेन्सी ।
जर्मन चान्सलर आंगेला मर्केलले बिस्तारै लकडाउन खुकुलो पार्दै जाने घोषणा गरेकी छन् । कोरोना भाइरसको महामारी फैलिएका कारण संक्रमण बिस्तार नहोस् भन्नका लागि जर्मनी लकडाउनमा छ।

तर अब बिस्तारै केही खुकुलो बनाउँदै लैजाने घोषणा उनले गरेकी हुन् । तर सामाजिक दूरीसहितका नियमहरु भने कम्तिमा आउँदो मे ३ सम्म कायम रहने छन् ।

चान्सलर आंगेलाले पसल तथा सार्वजनिक स्थल वा सार्वजनिक बस चढ्दा मास्क अनिवार्य रुपमा लगाउन पुनः आग्रह गरेकी छन् । आउँदो हप्तादेखि केही पसलहरु खुला हुने छन् ।

यस्तै आउँदो मे ४ देखि विद्यालय पनि सञ्चालनमा आउने जनाइएको छ । कडा नियमका कारण महामारी नियन्त्रणको दिशामा देश गएको चान्सलर आंगेलाले उल्लेख गरेकी छन् ।

धार्मिक सभासहित ठूला सार्वजनिक कार्यक्रमहरु आउँदो अगस्ट ३१ सम्म बन्द रहने छन् । यस्तै बार, क्याफे, रेस्टुरेन्ट, चलचित्र घर तथा सांगीतिक कार्यक्रम स्थलहरु पनि बन्द नै हुने छन् ।

जर्मनीको आधिकारिक तथ्यांक अनुसार अहिलेसम्म एक लाख २७ हजार ५८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने कोभिड–१९ बाट ३२ सय ५४ जनाको निधन भएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७७ बिहिबार ००:००  ७ : २१ बजे