१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मानवीय काममा बुद्धभूमिः पदैलयात्रुलाई गोरुसिंगेमा खाजा–नास्ता सुविधा, निशुल्क इन्टरनेटको पनि व्यवस्था



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले लकडाउनको बेला पैदलमार्ग हुँदै आफ्नो घरसम्म पुग्न कसरत गरिरहेका पैदलयात्रीलाई खाजा-नास्ताको प्रबन्ध मिलाएको छ । नगरपालिकाको गोरुसिंगेस्थित सर्पदंश उपचार केन्द्रको परिसरमा नगरपालिकाले भोकाएका पैदलयात्रीको लागि खाजा-नास्ताको व्यवस्था मिलाएको हो ।

लामो दुरीको बाटो हुँदै आएका पैदलयात्रीलाई चाउचाउ, विस्कुट र मिनरल वाटर पानी दिएर सेवा गरिरहेको नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिनुभयो । साथै पैदलयात्रीका लागि रिफ्रेस सेन्टरको पनि व्यवस्था गरेको उहाँले सुनाउनुभयो । पैदलयात्री केहि घण्टा पङ्खामा बसेर आराम लिन सक्छन भने निशुल्क इन्टरनेट चलाउने व्यवस्था पनि आफुहरुले मिलाएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । ‘राम्रै खाजा खुवाउने मन थियो तर लकडाउनका कारण पाउन गाह्रो भयो । सामान्य चाउचाउ, विस्कुट दिए पनि भोक मर्छ भनेर, यसो गरेका हौं नगर प्रमुख श्रेष्ठले भन्नुभयो ।’

गोरुसिंगे जिल्लाको प्रमुख बजार हो भने अर्घाखाँची जिल्लाको प्रस्थान विन्दु हो । यहाँ दैनिक दर्जन बढी पैदलयात्री आ आफ्नो गन्तव्यमा गइरहेका छन् । नेपालका विभिन्न स्थानमा मजदुरी गर्दै आएका नागरिक लामो समय लकडाउन हुँदा पैदलमार्ग हुँदै घरसम्म पुग्ने प्रयास गरिरहेका छन् । बाटोमा कुनै पसल नखुल्दा खानेपानीको चरम अभाव देखि भोक लाग्दा केहि खाने प्रबन्ध छैन । यस्तो बेला बुद्धभूमि नगरपालिकाले गरेको मानवीय कार्यको चौतर्फी प्रशंसा भएको छ ।

गोरुसिंगे सर्पदंशका व्यवस्थापक नविन भण्डारीका अनुसार बैशाख १ गतेदेखि यस्तो व्यवस्था मिलाइएको हो । आजसम्म २०१ जनालाई खाजानास्ता खुवाएको भण्डारीले बताउनुभयो । सोमबार काठमाडौंबाट पैदलमार्ग हुँदै आएका सवारी साधन खोजेर घरसम्म पुर्याउने काम भएको उहाँले बताउनुभयो । लामो हिडाईले थकित भएका कतिपय यही रिफ्रेस सेन्टरमै सुतेर अर्को दिन घरतर्फ जाने गरेको उहाँले सुनाउनुभयो ।

प्रकाशित मिति : ३ बैशाख २०७७ बुधबार ००:००  ६ : २३ बजे