१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

सनसिटीमा बस्ने २९६ जनाको आरडीटी परीक्षण, सबैको रिपोर्ट नेगेटिभ



काठमाडौँ ।

काठमाडौंको पेप्सीकोला टाउनप्लानिङस्थित कागेश्वरी मनोहरा नगरपालिका–९ मा पर्ने सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’मा बसोबास गर्ने २९६ जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोभिड–१९ को एन्टिबडी परीक्षण गरिएको छ ।
नगरपालिकाका मेयर कृष्णहरि थापाका अनुसार परीक्षण गरिएका मध्ये कसैको पनि रिपोर्ट पोजिटिभ आएको छैन । ‘सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा विभागबाट आउनुभएका चिकित्सकले जानकारी दिनुभएको छ,’ उहाले भन्नुभयो, ‘संक्रमित परिवारको घरमा काम गर्ने दुई युवकको पहिलोपटक नेगेटिभ आएपछि दोस्रोपटक पनि परीक्षण गरिएको थियो । हामीलाई डाक्टरले सबैको नेगेटिभ आएको बताउनुभएको छ । ’
मेयर थापाका अनुसार सो अपार्टमेन्टमा बस्ने सबै व्यक्ति तथा वरपर रहेका पसलधनीको पनि आरडीटी गर्नुपर्ने निष्कर्ष स्वास्थ्य सेवा विभागबाट आएको टोलीको छ । उहाले आजका लागि भने परीक्षणको काम लगभग सकिएको र भोलि पुनः परीक्षण हुने बताउनुभयो ।
वैशाख १ गते नगरपालिकाले विदेशबाट आएका ३६ जनाको परीक्षण गर्ने क्रममा सनसिटीमा बसोबास गर्ने एकै परिवारका तीन जनाको रिपोर्ट पोजिटिभ आएको थियो । त्यसपछि पीसीआरबाट परीक्षण गर्दा ८१ वर्षीया आमा र ५८ वर्षीय छोरामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो । ५२ वर्षीया बुहारीको रिपोर्ट भने नेगेटिभ आएको थियो । उनीहरू तीनै जना चैत ४ गते राति १ बजे बेलायतबाट दोहा हुँदै काठमाडौं आएका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०७७ बुधबार ००:००  ४ : ०० बजे