योगाचार्य कमल पौडेल ।
जब–जब विश्वमाविपद् आइपर्छ, तब–तब मान्छेहरुको उत्साह, साहस र धैर्य कम हुँदै जान्छ । मान्छे अन्नले मात्र बन्दैन । मान्छेभित्रको मन, हृदय, बुद्धि आदितत्वहरुको उत्तिकै भूमिका हुन्छ,जति शरीरका अन्य अवयवहरुको हुन्छ । मान्छे स्वस्थ त्यतिखेर हुन्छ जतिखेर उसको आत्मा, ईन्द्रिय र मन प्रसन्न हुन्छन् । विश्व स्वास्थ्य संगठनको परिभाषा पनि यस्तै छ । शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक तवरबाट स्वस्थ हुनलाई मात्र स्वस्थ व्यक्ति भन्न सकिन्छ । यो कुरा हजारौं वर्ष पहिले आयुर्वेदले भनिसकेको छ ।
समदोष समाग्निश्च समधातु मलक्रिया ।
प्रशन्नात्मिन्द्रियमना, स्वास्थ्यत्येभिधियते ।।
अर्थात्, शरीर भित्रका त्रिदोषहरु, अग्निहरु, धातुहरुको समावस्था, मल आदि क्रिया निरन्तर हुनु र शरीरभित्र स्थित आत्मा, ईन्द्रिय र मन प्रशन्न भएको अवस्था नै स्वास्थ्य हो । अहिलेको वर्तमान अवस्थामा आत्मा, ईन्द्रिय र मन विचलित छ । मान्छेहरु कोरोनाको डरले त्राही–त्राही भएका छन् । दिनप्रतिदिन संक्रमण हुनेको संख्या र मर्नेको संख्या बृद्धि भैरहेको छ । विशेष गरेर आत्मबल कमजोर हुने, रोगप्रतिरोधात्मक क्षमता कम हुने र बुढापाकाहरुका लागि निकै नै डरको अवस्था सिर्जना भएको छ । उत्साह दिनप्रतिदिन घट्दै गैरहेको छ । विहान साँझ आउने समाचारले मान्छेहरुलाई शसंकित बनाइरहेको छ ।
यो अवस्था मर्नकै लागि आएको हो त ? के हामी सबै मर्ने नै हो त ? के यो तेस्रो विश्व युद्ध हो र ? के यो चाइनाले बनाएर पठाएको भाइरस हो र ? यस्ता अनेक प्रश्न विश्वभरीका मान्छेहरुको मनमा दौडिरहेको छ । सानो बालकदेखि बृद्धि सम्मको मुख–मुखमाकोभिड–१९ को मन्त्र छ ‘कोरोना भाईरस’ विश्वभर कोरोनाको महाअनुष्ठान नै चलेको छ ।
अहिलेको वातावरण भनेको नकारात्मक उर्जा एक्टिभ भएको अवस्था हो । जताततै नकारात्मक उर्जा प्रवाह भैरहेको छ । यो विकारल अवस्थामा सकारात्मक चिन्तन राख्ने साधक, अभियन्ता, संघ, संस्थाहरुले सकारात्मक उर्जा प्रवाहका लागि अभियान छेड्नुको विकल्प नै छैन । विश्वमा यस्ता अनेक किसिमका भयावह स्थिति आउनुमा एक मात्र कारण छ ।
त्यो हो सकारात्मक उर्जाको विकेन्द्रिकरण । यदि संसारमा भए जति सकारात्मक उर्जा केन्द्रिकृत भएको भए यो अवस्था आउने नै थिएन । सबैसंग आ–आफ्नै गुण छन्, कसैमा शक्ति बढी छ , कसैमा, चिन्तन, कसैमाकर्म, कसैमा ज्ञान, कसैमा आविष्कार तर यी सबै वस्तु र साधनअहिले निरर्थक भैरहेछन् । यी सबै तत्वको समिश्रणले विश्वकल्याण गर्नुको साटो एकअर्कालाई शक्तिशाली र श्रेष्ठ बनाउने अभियान चलाउँदा बुद्धिको समुचित विनियोजन हुन सकेन । जसको फलस्वरुप अज्ञात, अदृश्य तत्वले हामीलाई दिन–प्रतिदिन खोक्रो बनाउँदै छ ।
शरीरका अन्य अवयव ठिक भएर के गर्नु जब मन स्थिर छैन, ईन्द्रियले समुचित काम गर्दैन र आत्माचिन्तित भैरहन्छ भने । जुन तत्व हुँदा मान्छे , मान्छे हुनुेको बोध गर्न सक्छ, त्यो नै हराउँदै जाँदाको सहजहुन सक्छ होला?यो वैश्विक समस्याको घडिमा पाँच कुरालाई ध्यानदिनु आवश्यक पर्दछ जसले गर्दा कोरोनाले ल्याएको यो समस्यादेखि लड्न मद्दत पुग्दछ । ती तत्वहरु हुन् १. उत्साह, २. साहस, ३. धैर्य ४. दृढनिश्चय, ५. जनसंग परित्याग,
१. उत्साहः
उत्साह आन्तरिक मानसिकउर्जाको प्रवाह हो, जसले कुनै पनि कामलाई तत्परतापूर्वक पूर्ण गर्नका लागी शक्ति प्रदान गर्दछ । उत्साहले सकारात्मक उर्जाको क्षेत्रमा तीब्र प्रगतीको काम गर्दछ । कुनै पनि कार्यमा प्रगती प्राप्तिकालागि सर्वप्रथम त्यस भित्रको रुची ,कल्याणकारीत्व र त्यसबाट आउने परिणामको ज्ञान हुन आवश्यक छ । जसले गर्दा इच्छित लाभ प्राप्तिका लागि त्यसप्रतिको रुचि र उत्साहमा बृद्धि हुदै जाओस् र कार्यमा मन लाग्न थालोस् ।
कुनैपनि अवस्थामा उत्साह कम हुन नदिनुहोस् । यदि लामो समयसम्म यसो गर्न सके रोग प्रतिरोधात्मकक्षमता पनि बृद्धि हुँदै जान्छ । मन पनि संतोष र प्रफुल्लितहुँदै जान्छ । उत्साह मानसिक विचलनको सबैभन्दा ठूलो औषधी हो ।
२. साहसः
भनिन्छ मान्छेमा उत्साह मात्र भएर हुँदैन । उत्साह गरेको काम पूरा गर्नका लागि साहस को आवश्यकता पर्दछ । चल्दै गरेका अवाञ्छनीय प्रवाहका विरुद्ध परिवर्तनका लागि साहस हुनु अति आवश्यक छ । आत्मविश्वास एवं ईश्वर विश्वास अथवा सत्य ज्ञानबाट व्यक्तिमा अद्भुत साहस उत्पन्न हुन्छ । प्रतिकुलताहरुदेखि नडराई विपरित परिस्थितिहरुसंग डटेर लड्दै आफ्नो इष्ट प्राप्त गर्न साहसको सहाराले सम्भव हुन्छ । भनिएको पनि छ, आधायुद्ध साहसी (आँटीलो) ले नै जित्छ । आगोको रापले सुन चम्कन्छ, बीउ रोप्नाले नै वृक्ष बन्छ, एवं प्रकारले स्वस्थ रहने साहस जुटाउन सके जीवनीशक्ति बृद्धि हुँदै जानेछ ।
३. धैर्यः
धैर्य बीना कुनै पनि कार्यका फल प्राप्तहुँदैन । कुनैपनि कार्य पूर्ण हुँनका लागि आफ्नै एउटा निर्धारित समय लाग्छ । परिणाम आएन भनेर कार्यदेखि बिचलित नहुनु हुँदैन । धैर्यपूर्वक अभ्यास गरिरहनु पर्दछ । कर्मफलको सिद्धान्त अकाट्य छ । गरेको अभ्यासबाट परिणाम निश्चित छ । जे हुन्छ शुभ–शुभ हुन्छ भन्ने विश्वास राख्नु पर्दछ ।
वर्तमान अवस्थामा धैर्यको निकै खाँचो रहेको छ । कतिपय स्थानमा यहि धैर्यको कमीले ठूलो घाटा भएको अवस्था हामी सबैको अगि सर्वविदित नै छ । त्यसकारण धैर्य नगुमाई आ–आफ्नो स्थानमा सचेत र सुरक्षित रहौं ।
४. दृढनिश्चयः
यो सम्पूर्ण सृष्टि परमात्माको इच्छा (संकल्प) “एकोहम् बहुस्याम्” बाट भएको बताइन्छ । यो शब्दबाट के स्पष्ट हुन्छ भने संकल्पशक्ति (दृढनिश्चय) को महत्व अत्यधिक रहेको छ । संकल्प हेर्दा निकै सूक्ष्म तर प्रचण्ड शक्तिको स्रोत हो, जसबाट विश्वमा आश्चर्यजनक कार्य सम्पन्न भएको छ । यो संकल्प गर्नुहोस् किमलाई कुनैपनि अवस्थामा नकारात्मकतत्वले प्रभाव पर्न सक्दैन । म ठिक छु, म स्वस्थ छु , म आनन्दमा छु, मलाई केहि भएको छैन भन्ने भावमनमा राखेर दृढनिश्चय गर्नुहोस् ।
५. जनसंग परित्यागः
यसै पनिअधिक मान्छेहरुसंग सम्पर्कमा जानु शास्त्र सम्मत पनि गलत मानिन्छ र वैज्ञानिक दृष्टिबाट पनि गलत प्रमाणित भएको छ । एक सचेत व्यक्तिले सामाजिक दूरी बनाई राख्नु पर्दछ भनिन्छ । कुनै पनि विषयमा बोध प्राप्त गर्नका लागि व्यक्तिलाई एकाग्रता, एकान्त एवं शान्ति प्राप्तिका लागि पनि जनसंग परित्याग निकै आवश्यक पर्दछ । अधि लोक सम्पर्कले धेरै मान्छेहरुसंग भेटघाट हुन्छ र त्यसै अनुसार समय, श्रम, शक्ति, साधन, आदि अधिक मात्रामा खर्च हुन्छन् ।
जसको कारणले गर्दा शरीरभित्रको रोग प्रतिरोधात्मक शक्ति कम हुँदै जान्छ । अधिक जनसम्पर्कमा भेटिने मान्छेहरुको विभिन्न भाव, व्यवहारहरुले चित्तमा हर्ष, शोक, सुख, दुःख, आदि भावको उत्पक्ति हुन्छ जसले मन विचलन हुने सम्भावना अधिक हुन्छ र किटाणु सर्ने सम्भावनापनिअधिक हुन्छ ।
स्वयम्का लागि स्वयम् नै उत्तम पहिचान कर्ता हो । म के हूँ ? कहाँबाट आएको हूँ । मेरो कर्तव्य के हो ? जीवनको महत्व के हो ? जस्ता प्रश्नहरुको उत्तर खोज्नु नै अहिलेको यो अवस्थाको सुन्दर सदुपयोग हुनेछ । यो समयउर्जा, जीवनीशक्ति बढाउने बेला हो । मनलाई एएकाग्र बनाएर विषम परिस्थितिमा आफुले आफैलाई सम्हाल्ने बेला हो ।
लेखक पौडेलले अहिले योग विषयमा विद्याबारिधि गरिरहनु भएको छ ।
प्रतिक्रिया