१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बुद्धभूमि नगरपालिकामा राहत वितरण सुरु



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा मंगलबारबाट राहत वितरण सुरु भएको छ । विश्व महामारीको रुपमा लिइरहेको कोरोना भाइरसबाट लाग्ने कोभिड-१९ रोगका कारण मुलुक लकडाउनमा परेपछि दैनिक ज्याला गरी खाने श्रमिक, विपन्न, असाहय र असक्तका लागि रातह स्वरुप नगरपालिकाले वितरण सुरु गरेको हो ।

नगर भित्रका १० वटै वडाका २८ सय ५१ घरपरिवारलाई राहत वितरण गर्ने लक्ष्य लिएको नगरपालिकाले अबका केही दिनभित्र यी सबैलाई राहत वितरण गर्ने नगर प्रमुख केशव कुमार श्रेष्ठले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । मंगलबार वडा नं. २ का २ सय १९ घर परिवारलाई राहत बाँडिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

केन्द्र सरकारले बनाएको मापदण्ड अनुसार वितरण गरिएको राहतमा सबैको अपनत्व हुने गरी सर्वपक्षिय, सर्वदलिय सहभागीतालाई नगरपालिकाले ध्यान दिएको उहाँले बताउनुभयो । यो बेला हिलो पानीमा माछा मार्ने तत्व क्रियाशिल हुने भन्दै सबैको आखाँ अगाडी राहत वितरण गर्दा कुनै समस्या नहुने उहाँले बताउनुभयो ।

नगरपालिकाले टेण्डरै आह्वान गरेर राहत बाँडेको हो । जिल्लामा सबैभन्दा अगाडी राहतका लागि लगत संकलन थालेको बुद्धभूमिले टेण्डर प्रक्रिया मार्फत राहत सामग्री खरिदका गर्दा केही ढिला भएको जनाएको छ ।

वडा नं. २ का श्रमिक, विपन्न, असाहय र असक्त परिवारले रातह पाएपछि खुसी देखिएको वडाध्यक्ष भेषराज शर्माले बताउनुभयो । वडा भित्र राहत दिनका लागि निष्पक्ष ढंगले लगत ल्याइएको भन्दै छुटेकालाई पछि पनि वितरण गरिने वडाध्यक्ष शर्माले बताउनुभयो ।

प्रकाशित मिति : २ बैशाख २०७७ मंगलबार ००:००  ७ : ०२ बजे