हेटौंडा ।
राज्यले कोरोना भाइरस नियन्त्रणका लागि देशमा लकडाउन गरेसँगै कुखुरापालक किसान पिरोलिएका छन् । यतिबेला उनीहरुका खोरमा रहेका अण्डा र कुखुराले बजार पाएका छैनन् । बेच्ने बेलाका कुखुरालाई दाना खुवाएर पाल्नुपर्दा मकवानपुरका कुखुरापालक किसान र व्यवसायी थप मारमा छन् ।
बैंकबाट ऋण लिएर कुखुरा पालन व्यवसाय गरेका मकवानपुरका किसानले अहिले कुखुरालाई आधामात्रै दाना खुवाएर बचाइरहेका छन् । लकडाउनका कारण दाना उद्योगले मूल्य वृद्धि गरेपछि उनीहरुलाई खोरमा रहेका कुखुरा जोगाउनै मुस्किल परिरहेको छ ।
उद्यारोमा दाना दिँदै आएका उद्योगले संकटका बेला भने किसानलाई नगदमा मात्रै दाना बिक्री गरिरहेका छन् । यतिबेला बेच्न ठिक्क भएका १४ लाख कुखुरामध्ये ६ लाख जीउँदो कुखुरा मकवानपुरका किसानले प्रतिगोटा एकसय रुपैयाँमा बिक्री गरेका छन् । तर त्यही कुखुराको लागत मूल्य भने प्रति गोटा ८ सय रुपैयाँ छ । कुखुरामा मात्रै मकवानपुरमा ५ अरबको लगानी छ । लक डाउनका कारण एक अरब रुपैयाँ नोक्सान भइसकेको कुखुरा व्यवसायी संघ मकवानपुरले जनाएको छ ।
किसानले उत्पादन गरेका कुखुरा र अण्डाले बजार नपाउँदा समस्या देखीएको छ । कोरोना भाइरससँग लड्न उपयुक्त हुने स्वस्थ्यकर मासु र अण्डाको सदुपयोग नहुँदा किसान र व्यवसायी दुबै मारमा छन् । राज्यले निम्न वर्गका मानिसलाई राहत उपलब्ध गराउँदा यी उत्पादनलाई समेट्ने हो भने केही मात्रमा नोक्सान कम हुने किसान र व्यवसायी बताउँछन् ।
प्रतिक्रिया