१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

चेम्बरले माग्यो ब्याजमा ६ प्रतिशत अनुदान



काठमाडौं ।
नेपाल चेम्बर अफ कमर्सले निजी क्षेत्रले व्यवसायका लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको ब्याजमा ६ प्रतिशत अनुदान दिन माग राखेको छ ।

चेम्बर पदाधिकारीले मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर व्यवासायका लागि लिएको ऋणको कम्तीमा ४ प्रतिशत सरकारी अनुदान र २ प्रतिशत बैंक तथा वित्तीय संस्थाले अनुदान दिने व्यवस्था हुनुपर्ने माग राखेका हुन् ।

चेम्बरले राष्ट्र बैंकसमक्ष १७ बुँदे माग राखेको छ। ब्याक टु ब्याक एलसीका लागि एक्सपर्टको व्यवस्था गरी उल्लेख्य रकमको व्यवस्था हुनुपर्ने, टीआर लोन सर्ट टर्मको साँवा र ब्याजलाई पुनर्संरचना गरी कम्तीमा ६ महिना थप गरिनुपर्ने, प्रतीतपत्र तथा टीटी सुविधाबाट आयात सामग्रीको डकुमेन्ट हालको परिस्थितिमा इ डकुमेन्ट स्वीकार गरिनुपर्ने र पछि सक्कली पेस गर्नुपर्ने व्यवस्था गर्न माग राखेको छ ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठलगायत पदाधिकारीले गभर्नरसँग सर्वसाधारणले लिएको घर कर्जा र हायर पर्चेज कर्जाको सावाँ र ब्याजको भुक्तानी गर्ने ऋणको साँवा ब्याज भुक्तानी अवधि थप्नुपर्ने पनि माग राखेका छन् ।

कोरोना भाइरसका कारण निजी क्षेत्र मात्र नभएर सर्वसाधारण पनि समस्यामा परेको भन्दै चेम्वरले ग्रामीण अर्थतन्त्रलाई क्रियाशील बनाउन र वैदेशिक रोजगारी गुमाएका नागरिकलाई स्वदेशमै सीप, श्रम र पुँजी खर्चिने नीति ल्याउन पनि सुझाव दिएको छ ।

चेम्बरको सुझाव छ, “गाउँगाउँमा सीपमूलक तालिमको व्यवस्था गर्ने र उद्यमशीलताको विकास गर्ने। उत्पादित वस्तुको बजारीकरणका लागि निजी क्षेत्र र स्थानीय सरकारबीच सहकार्य हुनुपर्ने, बैंकको स्प्रेडदर ३ प्रतिशत कायम हुनुपर्ने, सीसीडी रेसियो खुकुलो बनाउनुपर्ने, सरकारको ढुकुटीमा रहेको रकम निजी क्षेत्रमार्फत आर्थिक विकास, उत्पादन वृद्धि र रोजगारी सिर्जनामा लगानीका लागि नीतिगत व्यवस्था गर्नुपर्ने।”

प्रकाशित मिति : २ बैशाख २०७७ मंगलबार ००:००  ६ : ३६ बजे