मायादेवी अनलाइन, चारनम्बर ।
गत बर्ष झै यो बर्ष पनि सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जले (एसईई) परीक्षा केन्द्रित रेडियो कार्यक्रम सञ्चालन सुरु गरेको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ४ सिद्धिपुर चारनम्बर मुख्य स्टुडियो रहेको रेडियो मायादेवीले माध्यमिक शिक्षा परीक्षा (एसईई) विशेष तयारी कक्षा सुरु गरेको हो ।
चैत्र ६ गते नै एसईई परीक्षा सञ्चालन भएर सकिने बेला भैसक्दा विश्व महामारीको रुप लिई रहेको नोबेल कोरोना भाइरस (कोभिड-१९) ले गर्दा परीक्षा सुरु हुन सकेको छैन । (कोभिड-१९) को जोखिम कम गर्न सरकारले तेस्रो हप्ता देखि देशभर लकडाउन गरेको छ । (कोभिड-१९) को त्रास कम हुँदा वित्तिकै लकडाउन खुल्ला गर्ने योजना बनाएको सरकारले त्यसपछि मात्र (एसईई) परीक्षा सञ्चालन गर्ने जनाएको छ ।
लकडाउनको बेला (एसईई) परीक्षाको मिति कुरेर बसेका विद्यार्थीको पढाईलाई फाइदा पुगोस भन्ने उद्धेश्यले रेडियोले ‘मायादेवी एसईई रेडियो क्लास‘ सञ्चालन गरेको जनाएको छ ।
दैनिक विहान ८ बजेको संक्षिप्त खबर लगत्तै ९ बजेसम्म सञ्चालन हुने कार्यक्रम सोमबारदेखि सुरु भएको हो । कार्यक्रमको पहिलो दिन गणित विषयबारे वाणगंगा माध्यमिक विद्यालयका प्राचार्य समेत रहनुभएका गणित विषयका शिक्षक रामप्रसाद भण्डारीले क्लासको सहजीकरण गर्नुभएको थियो । उहाँले परीक्षामा आउन सक्ने सम्भावित प्रश्नको बारेमा चर्चा गर्नुभएको थियो ।
मंगलबार हिलवर्ट इंग्लिस बोर्डिङ स्कूल पिपराका गणित विषयका शिक्षक डिल्लीराज पाण्डेले ओपिटी म्याथको बारेमा सहजिकरण गर्नुभएको थियो । उहाँ दुवैले यी दुई विषयमा फरक फरक समय पाठ्यक्रम भित्र रहेर परीक्षामा आउन सक्ने सम्भावित प्रश्नबारे विद्यार्थीलाई जानकारी दिदै जानुहुने रेडियोले जनाएको छ ।
विशेष गरी कार्यक्रममा गणित, अंग्रेजी, विज्ञान, नेपाली र ऐच्छिक गणित केन्द्रित विद्यार्थीलाई जानकारी दिने प्रयास गरिने रेडियो मायादेवीको कार्यक्रम शाखाले जनाएको छ ।
कार्यक्रमको रेडियोबाट सुन्नुसक्नुहुनेछ भने रेडियोको फेसबुकबाट लाइभ सुन्नसक्नुहुनेछ । यस्तै मायादेवी अनलाइन डटकमबाट पनि यो कार्यक्रम विश्वभर सुन्नसक्नुहुनेछ ।
रेडियोबाट प्रशारण हुने कार्यक्रमबाट कपिलवस्तु लगायत छिमेकी जिल्ला अर्घाखाँची, पश्चिम पाल्पा, प्यूठान, रुपन्देही, दाङ, गुल्मीका केही क्षेत्रका विद्यार्थी लाभान्वित हुने रेडियोले आशा राखेको छ । गत बर्ष पनि रेडियो मायादेवीले जिल्लामै पहिलो पटक (एसईई) तयारी कक्षा सञ्चालन गरेको थियो ।
प्रतिक्रिया