भारत ।
भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० हजार नाघेको छ । अहिलेसम्म भारतमा संक्रमितको संख्या १० हजार ३६२ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । त्यसमध्ये ३३९ जनाको मृत्यु भएको छ भने एक हजार ३५ जनामा संक्रमण निको भएको छ वा अस्पतालबाट डिस्चार्ज भएका छन् । सबैभन्दा बढी संक्रमित दिल्ली तथा महाराष्ट्रमा छन् । दिल्लीमा सोमबार एकै दिन अहिलेसम्मकै धेरै नयाँ संक्रमित थपिएका छन् ।
दिल्लीमा सोमबार ३५६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै दिल्लीमा कुल संक्रमितको संख्या १५ सय १० पुगेको छ । दिल्लीमा हालसम्म २८ जनाको ज्यान गएको छ । महाराष्ट्रमा सबैभन्दा बढी २३ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ । राज्यमा अहिलेसम्म १६० जनाको ज्यान गएको छ । यस्तै तमिलनाडूमा ११ सय ७३, राजस्थानमा ८७३, मध्य प्रदेशमा ६०४, तेलंगनामा ५६२ तथा उत्तर प्रदेशमा ५५८ जनामा संक्रमण पुष्टि भएको छ । यसैबिच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै छन् । उनले बिहान १० बजेपछि सम्बोधन गर्ने तयारी छ । भारतमा लागु भएको २१ दिने लकडाउनको मंगलबार अन्तिम दिन हो । मोदीले सम्बोधनको क्रममा अब के गर्ने भन्ने सम्बन्धी घोषणा गर्ने छन् । लकडाउन केही खुकुलो बनाएर लागु गर्ने तयारी रहेको बताइएको छ ।
प्रतिक्रिया