१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कपिलवस्तुमा २ सय ५६ र्‍यापिड टेस्ट, कसैलाई कारोना देखिएन



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा (कोभिड १९ ) कोरोनाको र्‍यापिड टेस्ट अन्तरगत कपिलवस्तुमा तीन दिनमा २ सय ५६ जनाको र्‍यापिड टेस्ट भएको छ । गत शनिवारबाट टेस्ट सुरु भएको थियो । शनिवार १८, आइतबार १ सय १५ र सोमबार १ सय २४ जनाको टेस्ट भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताए ।
अहिलेसम्म बिजयनगर गाउँपालिका १ सय १३, शुद्धोदन गाउँपालिकामा ४०, मायादेबी गाउँपालिकामा ३५, कृष्णनगर नगरपालिकामा ३४, शिवराज नगरपालिकामा १६ जनाको टेस्ट भएको छ ।
यस्तै कपिलवस्तु नगरपालिकामा १२ यशोधरा गाउँपालिकामा ३ र बाणगंगा नगरपालिकामा ४ जनाको टेस्ट भईसकेको छ । प्रमुख भगतले टेस्ट भएका सबै जनाको रिर्पोट नेगेटिभ आएको बताए ।
क्वारेन्टाइनमा १४ दिन बसेकाहरुको टेस्ट भएको उनले बताए । प्रदेश नम्बर ५ सरकारको स्वास्थ्य निर्देशनालयले सात सय थान कोभिड डाईग्नोटिस्ट किड जिल्लामा पठाएको थियो । शुक्रवार टेस्टका लागि जिल्लाका २० जना ल्याबका कर्मचारीहरुलाई तालिम दिईएको थियो ।
एक जना पालिकाबाट २ जना कर्मचारी गरी १० पालिकाबाट २० जना खटिएका छन । कपिलवस्तुमा सोमवार साँझसम्म कोही पनि कोरोना संक्रमित भेटिएका छैनन । साँझसम्म १० पालिकाले तयार गरेको एक हजार १२ क्वारेन्टाईन बेडमा ८ सय ९२ जना रहेकोमा ३ सय ३२ डिस्चार्ज भई हाल ५ सय ६० जना रहेको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज सैनीले जानकारी दिए । २७ महिला बाँकी पुरुष क्वारेन्टाईनमा छन ।

प्रकाशित मिति : १ बैशाख २०७७ सोमबार ००:००  ६ : ०९ बजे