मायादेवी अनलाइन, तौलिहवा ।
नयाँ बर्षका दिन आन्तरिक पर्यटकले भरिभराउ हुने बुद्धको जन्मथलो सुनसान बनेको छ । नयाँ बर्षका दिन देशका बिभिन्न जिल्लाबाट एकै दिन ५० हजार बढी पर्यटक लुम्बिनी घुम्न आउँथे । तर, अहिले कोभिड १९ कोरोना भाइरसका कारण गरिएको लकडाउन पछि लुम्बिनी सुनसान छ । लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले नयाँ बर्षका दिन ५० हजार बढी पर्यटक आउँने गरेकोमा यस बर्ष जारी लकडाउनले लुम्बिनी पर्यटकबिहीन बनेको बताए ।
आन्तरिक र बिदेशी पर्यटकले भरिभराउ रहने गरेको बुद्धको जन्मथलो लुम्बिनी सुनसान छ । कोरोना भाइरस कोभिड–१९ त्रास र लकडाउनले मुलुककै प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनी अहिले सुनसान बनेको हो । लुम्बिनी विकास कोषले मन्दिर प्रबेश बन्द गरेको छैन । तर कोरोनाको त्रासले मन्दिरमा कोही नआउँदा सुनसान भएको हो ।
लुम्बिनी गुरुयोजना क्षेत्रको ३ वर्ग स्क्वायर माइलमा स्वदेशी तथा विदेशी पर्यटक देखिन छाडेका छन् । गत बर्ष २०१९ को मार्च महिनामा लुम्बिनीमा २९ हजार ४ सय विदेशी पर्यटक आएका थिए । २०२० मार्चमा ८ हजारको हाराहारीमा आए । ‘कोरोनाले गर्दा लुम्बिनी सुनसान बनेको छ, चेक गर्न बसेका सुरक्षाकर्मी मात्र गेटमा छन ।’ पर्यटकको आगमन रोकिएसँगै लुम्बिनी क्षेत्रका होटल व्यवसाय तथा रिक्सा, ई–रिक्सा चलाएर साँझ बिहानको छाक टार्नेहरु मर्कामा परेका छन् ।
लुम्बिनीका दुई दर्जन विहार र टेम्पल बन्द
कोरोना भाईरसका कारण बढेको त्रास र लक डाउनले बुद्ध जन्मस्थल लुम्बिनीका सबै विहार, मन्दिर र स्तुपा बन्द छन् । कोरोना संक्रमण बढदै गएपछि सतर्कता अपनाउँदै मन्दिर, विहार र स्तुपा बन्द गरिएका हुन् ।
चीनको जोङहुवा बौद्ध मोनाष्ट्री थाईल्याण्डको रोयय थाई मोनाष्ट्री, जर्मनको द ग्रेट लोटस स्तुपा र भारतको महाबोधी सोसाईटी मन्दिर बन्द गरिएका छन । त्यस्तै कम्बोडियन विहार, म्यानमारको गोल्डेन टेप्पल, भियतनामी टेम्पल र गेडेन टेम्पल अष्ट्रिया बन्द भएका छन् ।
त्यस्तै नव मैंत्री महाविहार, थेरबाद संग्रहालय र धर्मोदय सभाको विहार पनि बन्द भएका छन् । महामारीका बेला आफु पनि जोगिने अरुलाई जोगाउने तिर ध्यान जानु पर्ने हँुदा विहार बन्द गर्नु परेको चिनिया बौद्ध विहार प्रमुख भिक्षु सुचुङ युङले बताए । ‘अवस्था सहज भएपछि सदा झै खोल्छौं,’ उनले भने, ‘त्यस अवधिमा सबै नेपालीलाई संयमता अपनाई घर भित्र सुरक्षित बस्न आग्रह गछौं ।’
थाई विहारले आफना सबै कर्मचारीलाई लकडाउन अवधिभर विदा समेत दिईसकेको छ । सबै विहारले ढोका बन्द गरेर मन्दिर बन्द रहेको सूचना टा“स गरेका छन् । ‘लुम्बिनीमा संचालन रहेका विभिन्न मुलुकका २२ विहार टेम्पल छन्,’ लुम्बिनी विकास कोष सदस्य राजेश ज्ञवालीले भने, ‘सबै बन्द छन् ।’ सतर्कता अपनाउन आग्रह गरेका थियौं उनले भने ।
त्यसपछि मन्दिर र विहार धमाधम बन्द भएको उनले बताए । सतर्कता अपनाई मन्दिर भित्रै परित्रान र बुद्ध पूजा गर्न सबैलाई आग्रह गरिएको भिक्षु महासंघ अध्यक्ष भिक्षु मैंत्री महाअस्थवीरले बताए । विश्व संपदा सुचिमा रहेको लुम्बिनी मुलुकै प्रमुख पर्यटकीय गन्तब्य हो ।
यहाँ सय भन्दा बढी मुलकका विदेशी पर्यटक आउने गर्छन् । लुम्बिनीका विहार मन्दिर बन्द भएसंगै लुम्बिनी छकमन्न बनेको छ । मायादेबी मन्दिर भने बन्द छैन् ।
प्रतिक्रिया