९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बुद्धभूमिका जनप्रतिनिधिले राखे एक महिनाको सेवासुविधा राहत कोषमा



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका जनप्रतिनिधिले आफुले सेवासुविधा वापत पाउने एक महिनाको सम्पूर्ण रकम नगरले खोलेको विपत कोषको खातामा जम्मा गर्ने भएका छन् । यो निर्णय दुई हप्ता अगाडी नै गरेको नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।

विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनमा ज्यालादारी गरी खाने श्रमिक बर्ग, विपन्न, शसक्त र असाहय मर्कामा परेको भन्दै नगरपालिकाले राहत वितरण सुरु गरेको छ ।

गोरुसिंगेको एनएनबी बैंकमा ‘विपत प्रकोप व्यवस्थापक राहत कोष’को नाममा खाता खोलेर नगरपालिकाले सबै इच्छुक सामाजिक संघ संस्था, उद्योगी, व्यवासायी र हुने खाने आम नागरिकलाई सहयोगका लागि अपिल गरेको छ ।

विपत्तीको बेला एक महिनाको भएपनि तलवभत्ता वापतको रकम श्रमिक वर्ग, विपन्न, असाहय र असक्तको उद्धारमा सहयोग होस भनेर सबै जनप्रतिनिधिले रकम दिएको नगर प्रमुख श्रेष्ठको भनाई छ । नगरपालिका भित्र ५४ निर्वाचित जनप्रतिनिधि छन । सबैले एक एक महिनाको तलव दिने भएका हुन ।

राहत कोषमा नगरपालिकाले ७५ लाख राखेको छ भने आइतबारमात्र किडार्क नामका गैरसरकारी संस्थाले २ लाख ४१ हजार सहयोग गरेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । सोमबार बुद्धभूमि १ विरपुरका विशाल पोख्रेल(रवि) ले नगद एक लाख कोषको खातामा रकम जम्मा गर्नुभएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७७ सोमबार ००:००  ३ : २८ बजे