१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

स्यूराज मिडियाले दियो शिवराजको ‘प्रकोप व्यवस्थापन कोष’मा ११ हजार बढी रकम



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको चन्द्रौटामा अवस्थित स्यूराज मिडिया प्रा.लि.द्वारा प्रकाशित स्यूराज खबर साप्ताहिक पत्रिकाले शिवराज नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा एघार हजार एक सय रुपैयाँ एघार सहयोग गरेको छ ।

स्यूराज साप्ताहिक पत्रिकाले आफ्नो स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगत सहयोगी हात बढाएको हो । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) बाट उत्पन्न प्रतिकूल अवस्थाबाट दैनिक गुजारा चलाउन नसक्ने ज्यालादारी श्रमिक, अति गरिब, असहाय र विपन्न परिवारलाई राहतका लागि ऐक्यबद्धता जनाउँदै सो रकम सहयोग गरेको स्यूराज मिडिया प्रा.लि.का अध्यक्ष अर्जुन बेल्बासेले जानकारी दिए ।
स्यूराज मिडिया प्रा.लि.का अध्यक्ष बेल्बासे र स्यूराज खबर साप्ताहिक पत्रिकाका सम्पादक शरद अधिकारीले नगरप्रमुख नेत्रराज अधिकारी र प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेललाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।

२०७५ बैशाख १ गते स्थापना भई एक वर्ष पूरा गरेको अवसरमा वार्षिकोत्सव मनाउन नपाएपनि विपद्को घडीमा सामाजिक उत्तरदायित्वको काममा सहयोग गरेको स्यूराज खबर साप्ताहिकका सम्पादक शरद अधिकारीले बताए ।

अहिलेको विषम परिस्थितिमा नगरले अपनाएको एकद्वार प्रणालीबाट अति गरिब, निमुखालाई राहत वितरणमा थप सहयोग पुगोस् भन्ने उद्देश्यका साथ पत्रिकाको वार्षिकोत्सवको उपलक्ष्यमा सानो सहयोग गरेको सम्पादक अधिकारीले भने । सोही कार्यक्रमका बीच पत्रिकाका सम्पादक एवं नगरपालिकाका कानुनी सल्लाहकार समेत रहेका अधिकारीले आफ्नो व्यक्तिगत तर्फबाट नगरको विपद्कोषमा ५हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन् ।

चेक बुझ्दै नगर प्रमुख नेत्रराज अधिकारीले विषम परिस्थितिमा गरेको सानो सहयोगले ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे । विश्वलाई आतंकित बनाएको कोभिड १९ का कारण प्रभावित अति विपन्न र असहायक परिवारको दैनिकीमा ठूलो राहत पुग्ने नगरप्रमुख अधिकारीले बताए ।

यससँगै शिवराज विपद्कोषमा निजी क्षेत्रबाट ७ लाख ६४ हजार बत्तीस रुपैयाँ सहयोग प्राप्त भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १ बैशाख २०७७ सोमबार ००:००  २ : ५३ बजे