एजेन्सी ।
संसारमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख १४ हजार २४७ पुगेको छ भने १८ लाख ५३ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । विश्वका शक्तिशाली देशहरुमा नै मृत्यु हुनेको संख्या अधिक छ । स्पेनमा पछिल्लो २४ घन्टामा ६ सय ३ जनाको मृत्यु भएको छ ।
शनिबार ५ सय १० जनाको मृत्यु भएको थियो । यो संख्या २३ मार्चपछिको सबैभन्दा कम मृत्यु हो । यो सँगै स्पेनमा मृत्यु हुनेको संख्या १७ हजार २०९ पुगेको छ । कोरोना भाइरसबाट सबैभन्दा बढी अमेरिका र इटलीका नागरिकको ज्यान गएको छ । अमेरिकामा सबैभन्दा बढी २२ हजार ११५ जनाको मृत्यु भएको छ । यस्तै इटलीमा १९ हजार ८९९ जनाको मृत्यु भसकेको छ । इटलीमा पछिल्लो २४ घन्टामा ४१२ जनाको मृत्यु भएको छ ।
बेलायतमा पनि कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । पछिल्लो २४ घन्टामा बेलायतमा ७३७ जनाको मृत्यु भएपछि मृतकको संख्या १० हजार ६१२ पुगेको छ । कोरोना भाइरसका कारण अमेरिका, इटली, स्पेन र फ्रान्सपछि सबैभन्दा बढी बेलायती नागरिकले ज्यान गुमाएका छन् । अमेरिकामा विश्वको सबैभन्दा बढी कोरोना संक्रमित छन् ।
त्यहाँ हालसम्म ५ लाख ६० हजार ४३३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अमेरिकामा बढी छ । यस्तै फ्रान्समा १४ हजार ३९३ जनाको मृत्यु भएको छ । अमेरिका, इटली, स्पेन, फ्रान्स र बेलायतजस्ता शक्तिशाली राष्ट्रमा कोरोना भाइरसका कारण ८४ हजार २२८ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया