१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कोरोनाले चुनौती थपेपनि नयाँ पाठ सिकाएको छः साँसद पन्थी



मायादेवी अनलाइन, वाणगंगा ।
प्रदेश साँसद विष्णु पन्थीले नयाँ वर्ष २०७७ को अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । साँसद पन्थीले पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने सन्दर्भमा उल्लास र उमंगको पर्वको रुपमा मनाउनुपर्ने यस घडीमा दृढ आत्म विश्वासका साथ कठिन परिस्थितीमा सम्पूर्ण नेपाली एकताबद्ध भएर कोरोना विरुद्ध विजय हासिल गर्नुपर्ने सन्दर्भमा २०७७ लाई स्वागत गर्नुपर्ने परिस्थिती भएको बताउनुभयो ।
उहाँले नयाँ वर्ष घरभित्रै बसेर मनाउने, सामाजिक दुरी कायम गरी सरकारले गरेको लकडाउनलाई पूर्ण पालना गर्नुपर्नेमा जोड दिनुभएको छ । साँसद पन्थीले कोरोना संक्रमणको कारण कठिन परिस्थितीमा गुज्रिरहेका बेला अग्रपंक्तिमा खट्नुहुने स्वास्थ्यकर्मी, सुरक्षा निकाय, कर्मचारी, उद्योगी व्यवसायी, संचार माध्यम लगाएत सम्पूर्ण नेपालीलाई सम्मान व्यक्त गर्दै अझ दृढताका साथ अघि बढ्न आग्रह गर्नुभएको छ । उहाँले संकटको बेला विभिन्न माध्यमबाट सहयोग गर्नुहुने सामाजिक व्यक्तित्वहरुलाई धन्यवाद व्यक्त गर्दै आफना जन्म दिनमा रचनात्मक कार्य गरेर सामाजिक सेवाका सहयोगी हातहरु बढाउन समेत आग्रह गर्नुभएको छ । कोरोना भाइरस संक्रमणको विरुद्ध निरन्तर कार्यक्षेत्रमा स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, संघसंस्थालाई सहयोग पुर्याउदै आउनु भएका साँसद पन्थीले अप्ठ्यारो परिस्थितीमा आ आफनो ठाउँबाट आफनो जिम्मेवारी र कर्तब्य पुरा गर्नुपर्ने बताउनुभयो ।
उहाँले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) र लकडाउनले मुलुकलाई धेरै पाठ सिकाएको समेत बताउनुभयो । उहाँले यस्तो खालको महामारीले हरेक क्षेत्रमा चुनौती थपिएपनि संगसंगै नयाँ अवसर समेत ल्याएको बताउनुभयो । नेपाल सहित छिमेकी राष्ट्र भारतमा संक्रमण दर बढेर गएको बेला यसको रोकथाम र नियन्त्रणकालागि लकडाउनको विकल्प नभएको समेत बताउनुभयो ।

प्रकाशित मिति : १ बैशाख २०७७ सोमबार ००:००  ९ : ५४ बजे