१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बुटवलमा आईसीयूसहितको कोरोना अस्पताल सञ्चालनमा



बुटवल ।
बुटवलको धागो कारखानामा स्थापना गरिएको कोरोना विशेष अस्थायी अस्पतालमा आजबाट सञ्चालनमा आएको छ । भेन्टिलेटर जडित आईसीयू सेवासहित अस्पताल सञ्चालनमा ल्याइएको हो । बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको संयुक्त प्रयासमा बन्द अवस्थामा रहेको धागो कारखानामा कोरोना विषेश अस्थायी अस्पतालका निमार्ण गरिएको हो । उक्त अस्पतालमा आज भेन्टिलेटरसहित आईसीयू जडान गरिएको छ । विश्वभर कोरोना भाईरसको संक्रमण फैलिएलगत्तै नेपाल सरकारको आह्वानपछि विभिन्न जिल्ला र स्थानीय तहहरुमा कोरोना अस्पताल निमार्ण गर्ने क्रममा जारी छ ।

सोही क्रममा बुटवलमा पनि नगरपालिका र प्रादेशिक अस्पतालको सक्रियतामा बन्द धागो कारखानामा विशेष अस्पताल निर्माण गरिएको हो । सुरुमा आईसीयूु कक्षबिना नै सञ्चालन गरिएपनि त्यसको २० दिनपछि सुविधा सम्पन्न आइसियु कक्षसहित अस्पताल सञ्चालनमा आएको छ । आईसीयू कक्षको आज प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले अनौपचारिक रुपमा उदघाटन गरेका छन् । आईसीयू कक्षको उद्घाटन गर्दै उनले अहिले सबैले कोरोना विरुद्ध लड्नका लागि लकडाउनमा बस्न आग्रह गरे । उनले सरकारले प्रदेश नम्बर ५ का ४ स्थानमा आईसीयू कक्ष सहितको विशेष अस्पताल तयार भइसकेको पनि बताए । अहिले रुपन्देहीमा २, दाङ र नेपालगन्जमा १–१ ओटा विशेष अस्पताल सञ्चालनमा आएका छन् । बुटवलमा स्थापना गरिएको अस्पतालमा ४ वटा भेन्टिलेटर र ८ वटा आइसियु बेड राखिएको र निकट भविष्यमा २० वटा आइसियु बेड राखिने लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। राजेन्द्र खनालले जानकारी दिए । रातोपाटीबाट

प्रकाशित मिति : ३० चैत्र २०७६ आइतबार ००:००  ७ : ४८ बजे