१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

शनिबार मात्र बाणगंगामा ‘लक डाउन’ उल्लघंन गर्ने सय जना कारबाहीमा



मायादेवी अनलाइन, चारनम्बर ।
लकडाउन उल्लघंन गर्नेमाथी ईलाका प्रहरी कार्यालय पिपराले कडाई गर्न थालेको छ । मुलुक लकडाउन भएको अवस्थामा प्रशासनको आदेशलाई अवज्ञा गर्नेमाथि केही दिनदेखि प्रहरी थप कडा रुपमा प्रस्तुत हुन थालेको हो ।

विश्वभर कोरोनाले महामारीको रुप लिइरहेको सन्दर्भमा यसबाट जोगिने एक मात्र उपाय घर भित्रै बस्नु रहेपनि केही ब्यक्ति अटेर गरी बाहिर निस्केकालाई सडकमै कारबाही गर्ने काम भइरहेको पिपराका प्रहरी नीरिक्षक आयूष प्रसाद जोशीले रेडियो मायादेवीलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार बाणगंगा क्षेत्रभित्र आज (शनिबार) मात्र एक सय जनामाथि कारबाही गरिएको जोशिले बताउनु भयो । उहाँका अनुसार समातिएका सवारीलाई केही छिन नियन्त्रणमा लिएर सवारी धनीलाई सम्झाई बुझाई आगामी दिनमा उल्लघंन नगर्ने शर्तमा छोडिएको छ । उनीहरुसंग जरीवाना शुल्क भने लिइएको छैन ।

लकडाउन उल्लघंन गर्नेहरु सबैभन्दा धेरै पूर्वपश्चिम राजमार्गको चार नम्बर क्षेत्रमा समातिएका छन् । जोशिले कोरानाबाट जोगिने एक मात्र उपाय सामाजिक दुरी कायम गर्नु रहेकाले अति आवश्यक कामभन्दा बाहिर ननिस्कन सर्व साधारणलाई आग्रह गर्नुभयो ।

गाउघरका भित्री सडकमा पनि मानिसहरु हिँडडुल गर्ने, अनावश्यक भेला हुने, क्यारेम बोर्ड तथा तास खेल्ने गरेकाले पनि त्यस्ता ठाउँहरुमा प्रहरीको निगरानी बढाइएको प्रहरीले जनाएको छ । इलाका भित्रका बिभिन्न स्थानमा अहिले बाक्लो संख्यामा प्रहरी तैनाथ छ ।

प्रकाशित मिति : २९ चैत्र २०७६ शनिबार ००:००  ७ : ३८ बजे