१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

बेलायतमा पाँच जना नेपालीको मृत्यु



लण्डन ।
बेलायतमा तीनसाताको अन्तरालमा पाँच जना नेपालीको निधन भएको छ । बुधबार ५८ वर्षका शिव श्रेष्ठको निधन भएपछि मृतक नेपालीको संख्या पाँच पुगेको हो । विगत केही दिनदेखि आइसोलेसनमा रहेका उनी बुधबार बिहान मात्रै अस्पताल भर्ना भएका थिए ।सेक्युरिटीमा काम गर्दै आएका श्रेष्ठ गत मार्च ३० तारिखसम्म पनि नियमित काममा गइरहेका थिए । ज्वरो, खोकी लगायतका लक्षणहरु देखिन थालेपछि चिकित्सकको सल्लाहमा उनी घरमै आइसोलेसनमा बसेका थिए ।

बुधबार ३ बजेतिर गाह्रो भएपछि आफै एम्बुलेन्स बोलाएर अस्पताल गएका उनलाई साँझ ५ बजे अस्पतालले मृत घोषणा गरेको थियो । नेपालमा सोलुखुम्बु घर भएका श्रेष्ठ श्रीमती र दुई छोरासहित लामो समयदेखि नटिङहममा बस्दै आएका थिए ।आजै लण्डनमा नेपालबाट परिवारका सदस्यलाई भेट्न आएका एकजना बृद्धको मृत्यु भएको छ । उनको मृत्युबारे परिवारले विवरण खुलाउन चाहेन ।

मंगलबार मात्रै कोरोना भाइरस संक्रमणका कारण लन्डन बस्ने भूतपूर्व गोर्खा सैनिक चेतप्रसाद गुरुङको निधन भएको थियो । उनको मंगलबार लन्डनस्थित नर्थवीक पार्क अस्पतालमा निधन भएको आफन्तले जनाएका छन् । ५९ वर्षीय गुरुङ पर्वत पैंयूखोला स्थायी घर भई हाल लन्डनको वेम्लीमा श्रीमती गंगादेवीसंग बस्दै आएका थिए ।

निरन्तर रुघाखोकी, ज्वरो आएपछि ६ दिनजति सेल्फ आइसोलेसनमा घरमा बसेका उनी गत १ अप्रिलमा एम्बुलेन्स बोलाएर अस्पताल गएका थिए । उनलाई सोमबारदेखि भेन्टिलेटरमा राखिएको थियो । यसअगाडि बेलायतको साउथ इस्ट प्लमस्टेटमा बसोबास गर्दै आएका ४० बर्षका प्रशान्त अर्यालको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । अर्यालको क्वीन एलिजावेथ अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

उनी झण्डै ३ साता अगाडि नेपालबाट बेलायत आएका थिए । नेपालबाट बेलायत आएको केहीदिनमा नै उनमा ज्वरो र खोकी लगायतका लक्षण देखा परेका थिए । लामो समयदेखि लन्डन बस्दै आएका मृतकलाई उच्च रक्तचापबाहेक कुनै गम्भीर स्वास्थ्य समस्या थिएन ।बेलायतमा कोरोना संक्रमणबाट पहिलो नेपालीको मृत्यु भने मार्चको तेश्रो साता भएको हो । पूर्वगोरखा सैनिक लीलाबहादुर राईको मृत्यु कोरोना संक्रमणबाट भएको अस्पतालले पुष्टी गरेको थियो ।

संखुवासभाको खाँदबारी नगरपालिका–१० स्थायी घर भई लण्डनको साउथ ह्यारोमा बस्दै राईको मृत्यु लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा भएको थियो । मृतक पछिल्लो एक महिनादेखि निमोनियाबाट थलिएका थिए ।झण्डै २ दशक पहिले दुवै मृगौला प्रत्यारोपण गराएका उनी कोलेस्ट्रोल, घुंडा सुन्निने लगायत स्वास्थ्य समस्याबाट पनि पीडित थिए । पछिल्लो समय उनलाई रुघाखोकी पनि लागेको थियो ।

निमोनियाको उपचारका लागि करिब तीन साता अस्पताल बसेका उनलाई कोरोनाको महामारी बढ्दै जाँदा अस्पतालले घर पठाइदिएको थियो ।अस्पतालबाट घर फर्किएको तीनचार दिनमा फेरि सिकिस्त भएपछि अस्पताल पुर्याएको केहिबेरमै अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७६ बिहिबार ००:००  ८ : ४२ बजे