११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

आइतबारदेखि भरी ग्यास सिलिण्डर वितरण हुने



काठमाडौं ।

नेपाल आयल निगमले आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ ।
निगम सञ्चालक समितिको आज बसेको बैठकले १४.२ किलो (पूरै भरी) को सिलिण्डर ग्यास बिक्रीवितरण खुला गर्ने निर्णय गरेको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार बिहीबारदेखि नै उद्योगीलाई ग्यास भर्न दिइने छ ।
पछिल्लो केही दिनयता आधा सिलिण्डर ग्यासको बिक्री कम भएको जनाउँदै उद्योगीले भरी ग्यास वितरणका लागि निगमसँग आग्रह गरेका थिए । उद्योगीको माग र भण्डारगृह भरिएकाले निगमले भरी सिलिण्डर बिक्रीको निर्णय गरेको उनले बताए ।
बजारमा ग्यासको अभाव सिर्जना भएको जनाई निगमले यही चैत १६ गते अपराह्न १ बजेदेखि आधा ७.१ किलो को ग्यास सिलिण्डर बिक्री गर्न उद्योगलाई निर्देशन दिएको थियो ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले सबै कम्पनीका ग्यास भण्डारगृह भरिएर बुलेटमै ग्यास राखिँदै आएको बताए ।
उनका अनुसार देशभरका ५९ ग्यास उद्योगमा करीब १० हजार मेट्रिक टन क्षमता रहेकामा हाल सबैको भण्डारगृह भरिएकाले एक सय बुलेटमा ग्यास राखिएको थियो ।
एक साताअघिसम्म ग्यासको मागअनुसार डिपोमा ग्यास पुर्‍याउन भ्याइनभ्याइ थियो तर तीन दिनदेखि ग्यासको खपत नहुँदा डिपोमै राख्नुपरेको छु उनले भने, आधा सिलिण्डर ग्यास बिक्री हुन थालेपछि उपभोक्ताहरूले ग्यास लिनै मानेका छैनन् ।
ग्यास बिक्रेता महासंघका कोषाध्यक्ष राजेश दाहालले काठमाडौं उपत्यकाका ३० प्रतिशत उपभोक्ताले आधा सिलिण्डर ग्यास लिनै नमानेको जिकिर गरे ।

प्रकाशित मिति : २६ चैत्र २०७६ बुधबार ००:००  ७ : ३९ बजे