बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा प्रधान कार्यालय रहेको देउराली यातायात प्रा.लि. अर्घाखाँचीले जिल्लामा रहेका ६ वटै स्थानीय तहलाई आर्थिक सहयोग गरेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना नियन्त्रणका लागि जिल्लाका ६ ओटै स्थानीय तहमा खडा गरिएको बिपत व्यवस्थापन राहत कोषमा १ लाख १ हजारका दरले आर्थिक सहयोग गरेको हो ।
स्थानीय तहमा खडा गरिएको बिपत व्यवस्थापन राहत कोषमा संकलन भएको रकमले अति बिपन्न परिवार तथा दैनिक मजदुरि गरि खानेहरुलाई दैनिक उपभोग्य सामान चामल, दाल, नुन, तेल सहयोग गरिने छ ।
देउराली यातायात प्रा.लि. अर्घाखाँचीका पदाधिकारीहरु बीच बसेको बैठकले बिपतका बेला सबै स्थानीय तहलाई १ लाख १ हजारका दरले राहत प्रदान गर्ने निर्णय अनुसार आर्थिक सहयोग गरिएको संस्थाका महासचिव प्रेम पाण्डेले बताए ।
देउराली यातायात प्रा.लि.ले सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेसम थापा, मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण शर्मालाई प्रधान कार्यालयमा चेक हस्तान्तरण गरिएको र अन्य शितगंगा नगरपालिका, छत्रदेव गाउँपालिका र पाणिनी गाउँपालिकालाई बैंक मार्फत खातामा रकम जम्मा गरिएको संस्थाका अध्यक्ष योगेन्द्र खड्काले बताए ।
प्रतिक्रिया