चन्द्रकान्त न्यौपाने, चारनम्बर ।
सोमबार राति करिब ८ बजेतिर रेडियो मायादेवीको ५० मिटर दक्षिणतिर तौलिहवा रोडको सर्वसाधारण हिँड्ने पेटीमा एक जना ब्यक्ति सुतिरहेको अवस्थामा देखिए । सुनसान रात । मानिसहरुको आवत–जावत ठप्प । रातको समयमा फुलबुट्टे तन्नाले जीउ पुरै ढाकेर सुतेको अवस्थामा कार्यालयबाट घर जाने क्रममा मैले देखेँ । सुतेको अवस्थामा कारुणिक लाग्ने त्यो तस्विर देखेपछि त्यत्तिकै बाटोमा अलपत्र छाड्न मनले नमानेपछि उद्धारको भावले अगाडी बढिसकेको बाईक टक्क रोकेर म ती ब्यक्तिको नजिक गएँ । एकै छिन हेरेँ । तन्नाले टाउको देखि पैतलासम्म पुरै शरीर ढाकिएको । माखाहरु घन्किरहेको । हल्का डर पनि लागिरहेको थियो । तै पनि फोटो भने खिचि हालेँ । एकै छिनमा ती ब्यक्तिले शरीर हल्लाए । त्यसपछि भने म ढुक्क भएँ । अब अरु शंका गर्नु पर्ने अवस्था रहेन । लाग्यो उनी अलपत्र परेका ब्यक्ति हुन् । उनी निन्द्रामा भकभकाइरहेका पनि थिए । लगत्तै मैले तन्ना तानेँ र मुख खालेँ । एकै छिनपछि सो स्थानमा पूर्वपट्टीबाट एक जना दाजु आउनु भयो । हामीले उनलाई टाढाबाट बोलाउँदै उठायौँ । रुन्चे स्वर निकाल्दै लुरुक्क गर्दै उठे ।
अन्दाजी ७० बर्षका बाबाजस्तो देखिने वृद्ध । सेतै दारी फुलेको । मैले झुत्रो, रोसेच्यासे कमिज र हाफ पाइन्ट लगाएको । अनुहारमा पीडा । धेरै भोकाएजस्तो अनि उत्तिकै थकानले गले जस्तो । यस्तो देखेपछि ती व्यक्ति भारतीय रहेछन् भन्ने पुष्टि भयो । हामीलाई उक्त ब्यक्तिलाई त्यसै अलपत्र छाड्न हुँदैन भन्ने लाग्यो । फेरि विश्वभर कोरोनाको महामारी भएका कारण सोधपुछ गर्न हामी बाध्य भयौँ ।
त्यसपछि दाजुले उसलाई सोध्न थाल्नुभयो । मैले मोबाइलको लाइट बालेँ । उनका सुरुका अभिव्यक्ति सुन्दा कतै लाग्थ्यो उनले मानसिक सन्तुलन गुमाएको जस्तो मात्र । यत्तिकै छोडौँ या के गर्ने सल्लाह गर्ने क्रममा मैले भनेँ यो विषम स्थितिमा यत्तिकै छोड्नु हाम्रै लागि खतरा छ । अर्को तर्फ मानवीय नाताले पनि यिनलाई कतै ब्यवस्थापन गर्नुपर्दछ । अनि हामीले थप सोधपुछ गर्न लाग्यौँ । नाम, ठेगाना र कसरी आएको भनेर सोध्दा उनले नाम क्रमैसंग भन्न थाले ।
उनले आफ्नो नाम ‘राम विहाल’ रहेको बताए । भारत राजस्थानको पिपली भन्ने गाउँमा घर बताउने उनले सिमा नाकासम्म ‘तुहान एक्सप्रेस’ रेल बाट आएको बताए । अझ महत्वपूर्ण कुरा के छ भने उनी आफ्नो गाउँमा जाने क्रममा चार नम्बरसम्म आएका रहेछन् । उनलाई घर जाँदै गरेको छु लागेको रहेछ । सारै भोकाएजस्तो लागेर हामीले विस्कुट पनि दियौँ । भारतको राजस्थान कोरोना फैलिएको प्रान्त हो । त्यहाँ दिन प्रतिदिन मृत्यु हुने र संक्रमित हुनेको संख्या बढ्दो छ । त्यसकारण पनि हामीमा यी व्यक्ति ब्यवस्थापनको जिम्मा थपियो ।
हामीले थप सोध्न थाल्यौँ । नेपाल आएको कति दिन भयो ? कसरी नेपाल आयौ ? कसले यता पठायो ? घरमा को को छन् इत्यादि ? त्यसै क्रममा वरीपरिका मानिस जम्मा हुने क्रम बढिरहेको थियो । उनले क्रमैसंग भन्न थाले । चार दिन भयो नेपाल आएको । म मेरो जग्गा खोज्दै हिँड्दै छु । हामीले फेरि सोध्यौँ कसले यता पठायो ? उनले भने सिमानाबाट घचटेर पठाए । धेरै दिन भो हिँडेको । धेरै थाकेको छु । पहाडमा रेल पाइन्छ भन्दै पठाइदिए । उनको अभिव्यक्तिको आसय यही थियो । तर, रेल चलेको छ भन्दा हामीलाई पत्यार लागेन । किनकि भारतमा पनि २१ दिने लामो लकडाउन छ । उनले आफ्नो घरमा निमको बोट रहेको पनि बताए । रातको साढे ९ बजिसकेको थियो । मानिस थप जम्मा हुन थाले । यत्तिकैमा हामीले सल्लाह गर्यौँ । यिनलाई प्रशासनको जिम्मा लगाउनु पर्दछ । अथवा कुनै क्वारेनटाइनमा राख्नु पर्दछ ।
यस्तै यस्तै सल्लाह गर्दै थियौँ । मैले इलाका प्रहरी कार्यालय पिपरालाई खबर गरेँ । मानिसको भिँडभाँड बढिरहेकै थियो । त्यही मानिसको बीचबाट एक जनाले भने यिनीहरु टन्नै छन् । भारतबाट यस्ता मानिस धेरै छिरेका छन् नेपालमा । अर्काले भने ‘ऊ माथि प्रतिक्षालयमा पनि एक जना सुतिरहेका छन् । नपत्याय जाऊँ हुर्नेहोस् हेर्न ।’ यो सुनिसकेपछि हामी थप त्रसित भयौँ, यदि यसो हो भने त हामी सुरक्षित छैनौँ । मैले भनेँ यसरी त कोरोना सर्ने भय भयो त ? भारतबाट आएको चार दिन भएको हुनाले ती ब्यक्तिलाई मानवीयताको दृष्किोणले हेर्न सकिएन । कोरोनाको भय बढी भयो । प्रहरी आउन ढिलाई गरेकाले उससंग रहेको झेलामा केके छन् भनेर देखाउँन भन्यौँ । उनले बाटोमा आफूलाई अरुले खान दिएको रोटी, चिउरा र विस्कुट, लगाउने कपडा, साडी र दाँत माझ्ने ब्रस पनि देखाए । हामी चकित भयौँ । उनले कुरा फेरिरकाले निकै बाठो ब्यक्ति भएको स्थानीय ब्यावसायी माधव भाट क्षेत्रीले बताउनुभयो । यति हुँदा रातको १० बजिसकेको थियो । एकैछिनमा प्रहरी पनि आइपुग्यो । उनीहरु पनि एकै छिन अलमलमा परे । के गर्ने कसो गर्ने मेसो पाएनन् । कहाँ कहाँ फोन गरेर प्रहरीले भने जुन बाटो आए त्यही बाटो पठाइदिनुपर्ने भयो । अनि उठायौँ । प्रतिक्षालयमा भएको मानसिक सुन्तलन गुमाएको युवकलाई पनि उठायौँ । प्रहरीले दक्षिणतिर धपायो । सबै घरघर लाग्यौँ ।
यस घटनाले उब्जाएका प्रश्नहरुः
घटना सामान्य हो । यस्तो घटना अघि पछि लगभग दिनदिनै देखिने गर्दछ । तर, कोरोना महामारीको यो बेला भने जो कोहीलाई पनि शंका गर्नुपर्ने अवस्था छ । अझ दोश्रो तेश्रो मुलुकबाट आएका ब्यक्ति जो कोही भए पनि निगरानी गर्नु पर्ने बाध्यताले हामीले पनि निगरानी गरेका हौ ।
अब सबाल छ । लकडाउन भएको अवस्थामा राजस्थानबाट ती राम विहाल कसरी चारनम्बरसम्म आए ? उनी रेलबाट चाँहि आएनन् तर ४ दिन नेपाल छिरेको भयो भन्दै गर्दा कसरी छिरे त ? उनी मात्र होइन उनीजस्ता धेरै भारतीयहरु रातारात भारत नेपाल छिरिरहेका छन् । उनको भनाई सत्य हो भने सिमानाकाबाट घचेटेर किन नेपालतर्फ सोझ्याइयो ? लक डाउनमा भारतमा अलपत्र परेका नेपाली भारतमा र नेपालमा अलपत्र परेका भारतीय नागरिकलाई नेपालमै ब्यवस्थापन गर्ने नीति हुँदाहुँदै सुरक्षाकर्मीले किन यस कुरालाई वेबास्ता गरे ? कि जानजान त्यस्ता ब्यक्तिलाई भारतले नेपाल छिराएको हो ?
लामो समय राजनैतिक अनुभव भएका माधव भाटले भन्नुभयो “यो भारतको रणनीति पनि हुन सक्छ । किन कि भारतमा लकडाउनका कारण लाखौँ नागरिक सडक छापे भएका छन् । खाने बस्ने स्थान छैन । अझ विहारमा यस्ता मान्छेलाई ब्यवस्थापन गर्न युपी सरकारलाई चुनौति छ । त्यसैले उसले जानजान नेपालतर्फ सोझाई दिएको पनि हुन सक्छ । यदि ती ब्यक्ति चार दिन अघि नै नेपाल आएका हुने भने यो विषय गम्भिर छ ।” यसमा भारतीय सुरक्षाको कुरा मात्रै कुरा छैन नेपालमा पनि किन प्रवेश दिइयो ? यस विषयमा बुझ्दा प्रहरीले खुला सिमानाका भएकाले यो समस्याको रुपमा रहेको बताउँछन् ।
राम विहालजस्ता ब्यक्तिहरु ठुलो संख्यामा नेपालका गल्लिगल्लिमा रहनुले आम जनता भने थप त्रसित बनेका छन् । उनीहरु कोरोना बोकेर आएका हुन सक्ने भन्दै सर्वसाधारण त्रसित रहेका हुन् । बाणगंगा माविका प्राचार्य रामप्रसाद भण्डारीले यस्तो बेला कसैलाई दया गर्ने अवस्था नरहेको बताउनु हुन्छ । उनीहरुले छोएका, टेकेका सबै स्थान खतरापूर्ण रहेको हुँदा केटाकेटीलाई बाहिर हिँड्न पनि डर भएको उहाँले बताउनु भयो ।
प्रहरीले पनि त्यस्ता ब्यक्तिलाई भेट्नासाथ नियन्त्रणमा लिई ब्यवस्थापन गर्नुपर्नेको सट्टा धपाउनुले पनि प्रहरीको गैर जिम्मेवारीपना देखिएको छ । चार नम्बर र गजेहडाबाट धपाइए पनि ती व्यक्ति अब कहाँ गए त ? यो पनि प्रश्न छ । त्यसैले प्रहरी अथवा स्थानीय तहका जनप्रतिनिधले शंकास्पद ब्यक्तिलाई देख्ने र भेट्ने वित्तिकै नियन्त्रणमा लिएर तुरुन्त १४ दिने क्वारेनटाइनमा राख्नु पर्दछ । चाहे त्यो दुखी, विरामी, अशक्त किन नहोओस् । यदि शंकास्पद ब्यक्ति छन् भने कि तिनको उपचार गर्नु पर्दछ ? अन्यथा तिनीहरुलाई क्वारेनटाइनमा राखिनु पर्दछ । यो कपिलवस्तुको मात्र समस्या नभएर देशभरकै खुला सिमा नाकामा हुने समस्या हो । त्यसैले कोरोना महामारी अवधिभर यो विषयलाई सरकारी सुरक्षा निकायले गम्भिर रुपमा लिएर काम गर्नु पर्दछ । यो बेला कोरोनाको त्रास मात्र पालेर होइन मानवीयता पनि देखाउँनु पर्छ ।
प्रतिक्रिया