११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

कोभिड १९ अपडेटः अमेरिकामा मृतकको संख्याले १० हजार नाघ्यो



एजेन्सी ।
अमेरिकामा नोवेल कोरोना भाइरसको संक्रमणका कारण हुने कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ। सोमबार थप १२ सय ५५ जनाको मृत्यु भएसँगै कुल मृत्यु हुनेको संख्या अमेरिकामा १० हजार ८७१ पुगेको हो । यस्तै ३० हजार भन्दा बढी संक्रमित थपिएसँगै अमेरिकामा कुल संक्रमितको संख्या तीन लाख ६७ हजार भन्दा बढी पुगेको छ ।

अमेरिकामा कोरोना भाइरस महामारीको हटस्पट न्यूयोर्कमा कोरानो भाइरसका कारण मृत्यु हुनेको संख्या आइतबारको तुलनामा केही बढेको छ । सोमबार पाँच सय ९९ जनाको न्यूयोर्कमा मृत्यु भएको हो । अहिलेसम्म न्यूयोर्कमा मृत्यु हुनेको संख्या चार हजार ७५८ पुगेको छ । यस्तै राज्यमा संक्रमितको संया एक लाख ३१ जहार भन्दा बढी छ ।

न्यूयोर्कमा गभर्नर एन्ड्रूय कुओमोले लगातार बढ्दो क्रममा रहेको संक्रमण तथा मृत्यु सोमबार अघिल्लो दिनको हाराहारीमा रहनुले केही आश पलाएको बताएका छन् । कोरोना भाइरसको संक्रमणका कारण विश्वभर अहिलेसम्म ७४ हजार ६३५ जनाको मृत्यु भएको छ । त्यसमध्ये ५० हजार भन्दा बढी युरोपका छन् ।

इटाली र स्पेनपछि युरोपको सबैभन्दा बढी प्रभावित देश फ्रान्समा मृत्यु हुनेको संख्या ८ हजार ९११ पुगेको छ । यस्तै बेलायतमा पाँच हजार ३७३, जर्मनीमा १८ सय १०, बेल्जियममा १६ सय ३२ तथा नेदरल्याण्डमा १८ सय ६७ जनाको मृत्यु भएको छ ।

विश्वभर कुल संक्रमितको संख्या १३ लाख ४४ जहार भन्दा बढी पुगेको छ । अहिलेसम्म दुई लाख ७८ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण निको भएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७६ मंगलबार ००:००  ७ : १२ बजे