मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा प्रदेश सांसद विष्णु पन्थीले थप स्वास्थ्य सामाग्री वितरण गर्नुभएको छ । कोरोना भाइरससंग पहिलो पंक्तिमा काम गर्ने कपिलवस्तुका स्थानीय तहका स्वास्थ्य संस्थालाई ३१ थान व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) प्रदान गनुभएको हो ।
पटक-पटक कोरोनाविरुद्धका स्वास्थ्य सामग्री वितरण गर्दै आउनुभएका सांसद पन्थीले जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षा निकाय, संचार संस्था र उद्योग वाणिज्य संघलाई अत्यावश्यक सामग्री वितरण गर्दै हिँड्नु भएको छ । यसअघि पनि व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) मास्क, सेनिटाइजर बाँड्नु भएका उहाँले सोमबार मात्र थप ३१ थान (पिपिई) विभिन्न निकायलाई प्रदान गरेको मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । उहाँका अनुसार वाणगंगाको मोतिपुर, कोपवा, कपिलवस्तुको निग्लिहवा र बुद्धभूमिका विभिन्न स्वास्थ्य संस्थालाई पिपिई वितरण गरिएको छ । पिपिई पाएपछि स्वास्थ्यकर्मी खुसी भएका छन् ।
पिपिई वितरण पछि सांसद पन्थीले निर्धक्कसंग विरामीको उपचार गर्न चिकित्सकलाई आग्रह गर्नुभएको छ । पिपिई अभावकै कारण देशभर स्वास्थ्यकर्मीले विरामीलाई सहज रुपमा जाँच गर्न नमान्दा विरामी मर्कामा परेको भन्दै अब त्यसो नगर्न स्वास्थ्यकर्मीलाई सुझाउनुभयो । साथै उहाँले भाइरस प्रतिरोधी एन नाइन्टि फाइभ माक्स पनि छिट्टै वितरण गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
प्रतिक्रिया