९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तु नगरपालिकाले बनायो एक करोडको राहत कोष, ५ हजारलाई राहत दिने तयारी



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु नगरपालिकाले एक करोडको बिपद ब्यवस्थापन कोष खडा गरेको छ । कोरोनाका कारण सरकारले गरेको लकडाउन पछि प्रभावित भएका बिपन्न परिवारलाई राहत प्रदान गर्न सो कोष खडा गरिएको हो ।
आइतवार नगरपालिकाको तौलिहवा स्थित कार्यालयमा बसेको नगरपालिकाको बोर्ड बैठकले सो कोष खडा गरेको हो । मेयर किरण सिंहले सो कोषबाट बिपन्न पविारलाई राहत बाड्नका लागि कार्यबिधि समेत पारित गरेको बताए ।
नगरपालिकाको १२ वडाबाट ५ हजार गरिब बिपन्न परिवारको तथ्याङ्क आएको छ । आएको तथ्याङ्कमा अध्ययन गरी दूई तीन दिन भित्रै राहत बितरण गरिने मेयर सिंहले बताए । उनले राहत कोषमा सहयोग स्वरुप रकम जम्मा गर्न ब्यापारी, गैसस लगायतलाई अपील समेत गरेका छन ।
कोषमा मेयर सिंहले ३० हजार, उप–मेयर लक्ष्मी गुप्ताले ३० हजार, वडा नं. १ वडा अध्यक्ष सुदीप पौडेलले २५ हजार, २ का वडा अध्यक्ष रामभजन कलवारले २५ हजार, ३ का वडा अध्यक्ष प्रकाश गैरेले २५ हजार, ६ का वडा अध्यक्ष राम दिनेश यादवले २५ हजार, वडा नम्बर ७ का अध्यक्ष धरमात्मामणि त्रिपाठीले ५ हजार दिने जनाएका छन ।
यस्तै वडा नम्बर ८ अध्यक्ष शिव कुमार पाण्डेयले १० हजार, वडा नम्बर ९ का अध्यक्ष शिव बहादुर बाग्लले २५ हजार, वडा नम्बर १० का अध्यक्ष मोहनलाल शर्माले २५ हजार, वडा नम्बर ११ का अध्यक्ष रामगोपाल यादवले २५ हजार, वडा नम्बर १२ का अध्यक्ष ओम प्रकाश पाण्डेयले २५ हजार दिने जनाएका छन ।
कार्यपालिका सदस्य सबिता घिमिरेबाट ५ हजार तथा नगरपालिकाका अधिकृत स्तरका कर्मचारीबाट ७ दिन, सहायक स्तरको ५ दिन, श्रेणीबिहीन कर्मचारीले ३ दिनको तलब राख्ने समते निर्णय भएको प्रमुख प्रशाकीय अधिकृत चिरञ्जिवी सापकोटाले बताए ।
राहत एकद्धार प्रणलीबाट बितरण गरिने, ६ सदस्यीय नगर स्तरीय अनुगनम समिति र वार्ड स्तरीय कार्यदल समेत गठन गरिएको छ । प्रति परिवार १५ किलो चामल, ढेड किलो दाल, एक लिटर तेल, नुन एक प्याकेट साबुन २ वटा प्रदान गरिने समेत निर्णय भएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७६ सोमबार ००:००  ८ : २२ बजे