११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

कोरोना महामारीः विजयनगरले वस्तुको आपूर्ति सहज पार्दै, आवत-जावतमा थप कडाई



राम प्रघट कोरी, विजयनगर ।
कपिलवस्तु विजयनगर गाउँपालिकाकाको आपतकालिन बैठक आइतबार बसेको छ । गाउँपालिकाकामा बसेको बैठकले राहत कोष स्थापना, राहत वितरण, कोरोना भाइरस महामारी नियन्त्रण तथा रोकथाम र असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलव्ध गराईने राहत सम्वन्धी मापदण्ड पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले जानकारी दिनुभएको छ ।
विपत्तीको समयमा राहत वितरण लगायत विपद व्यवस्थापनका लागि ८० लाखको विपद व्यवस्थापन तथा राहत कोष स्थापना गरिएको र राहत उपलव्ध गराउन चाहने व्यक्ति, संघसंस्था वा निकायलाई गाउँपालिकाको विपद व्यवस्थापन कोषमा जम्मा गर्नुपर्ने उहाँले बताउनुभयो ।
लक डाउनका कारण दैनिक जीवनयापन गर्न कठिनाई परेका मजदुर तथा अति विपन्न बर्गका लागि पहिलो चरणका कूल ८ सय ४७ घरपरिवारलाई राहत वितरण गरेको बताउँदै लक डाउनको समयावधी बढ्दै जाँदा दोस्रो चरणको थप राहत प्रदान गर्ने भट्टराईले बताउनुभयो ।
गाउँपालिकाकोले हाल महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाबाट कडाइका साथ कार्यान्वयन गर्ने र पालिका भित्रको एक गाउँ वा टोलबाट अर्को गाउँ वा टोलमा हुने मानिसहरुको आवागमनलाई कडाइका साथ रोक्ने, लकडाउन उल्लङ्घन गर्नेलाई सुरक्षा निकायको समन्वयमा कारवाही गर्ने जनाएको छ ।
अत्यावश्यक खाद्य सामग्री बाहेकका अन्य पसलहरु पूर्ण रुपमा बन्द गर्ने र खाद्य सामग्री विक्री वितरण गर्ने पसलहरु आजै देखि लागू हुने गरि विहान ८ देखि १० वजे सम्म मात्र खोल्ने र अनिवार्य रुपमा सामाजिक दुरी कायम गर्नुपर्ने, अत्यावश्यक बस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाउँदै कालो बजारी गर्ने र गराउने माथी कानुन बमोजिम कडा कारवाही गर्ने लगायतको निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७६ सोमबार ००:००  ७ : ३७ बजे