११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

महाराजगंजले दुई हजार बढि घर परिवारलाई राहत बाड्दै



मणि प्रसाद गैह्रे, तौलिहवा ।
विश्वमा फैलिएको कोरेना भाइरसको कारण नियन्त्रणको लागि गरिएको लक डाउनको चपेटामा परेका गरिब मजदुरहरुलाई महाराजगंज नगरपालिकाले दुई हजार २ सय नगरवासीलाई राहत वितरण गर्ने भएको छ । कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि नेपाल सरकारले लागु गरेको लकडाउनको मारमा परेका नागरिकहरुको लागत संकलन गरी राहत दिने निर्णय गरि अति आवश्यक खाद्यान्न वितरण कार्य सूरु गरिएको हो ।
महाराजगंज नगरपालिका भित्र दैनिक ज्याला गरी आफ्नो परिवार पाल्ने अति गरिब परिवारलाई राहत वितरण गर्न लागेको महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले जानकारी दिए । महाराजगंज नगरपालिकाको विपद व्यवस्थापन समितिकोे बैठकले प्रत्येक वडाबाट २ सय गरिब मजदुरको लागत संकलन गरी ११ वटै वडामा राहत वितरण गरिरहेको कलामले बताए ।
राहतको लागि तत्काल रु. ५५ लाखको राहत कोष खडा गरिएको र त्यसैबाट राहत वितरण कार्य गरिरहेको नगर प्रमुख कलामले जानकारी दिए । नगरपालिकाको विपत व्यवस्थापन समितिको बजेटले मात्र राहत वितरण गर्न नपुग्ने भएकाले संघीय सरकार प्रदेश सरकार स्थानिय सामाजिक संस्था र नीजि क्षेत्रलाई पनि यो अभियानमा सरिक हुन नगरपालिकाले आग्रह गरेको छ ।
स्वाथ्यकर्मीहरुले चेकजाँचमा कडाई गरेको र भारत तथा विदेशवाट आएका नागरिकलाई क्वारेनटाइनमा राखिरहेको समेत नगरपालिकाले जनाएको छ । लकडाउनको पूर्णपालना गर्न समेत नगरवासीमा अपिल गरेको छ । राहत स्वरुप खाद्यान्न र सरसफाईका सामग्री पे्रत्यक वडामा वितरण जारी रहेको उप प्रमुख शोभावती कुर्मीले बताइन् ।
नगरपालिकामा ११ वटा स्थानमा क्वारेनटाइन बनाइएको छ । हालसम्म छिमेकी देश भारतबाट आएका १ सय ७८ जनालाई क्वारेनटाइनमा राखिएको प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेलले जानकारी दिए । क्वारेनटाइनमा रहेका सबैको खाना बस्न सम्पुर्ण खर्च नगरपालिकामार्फत व्यहोरिएको खरेलले बताए । नगरपालिकाबाट प्रति परिवार २५ केजी चामल, ३ केजी दाल, १ लिटर तेल, १ केजी नुन साबुन, लगायतका सामग्रीको प्याकेज बनाएर वितरण कार्य जारी राखिएको छ ।
। महाराजगंज नगरपालिकाको हरदौना, कुशहवा, कजरहवा, बरईपुर, शिशवा, जिगिना, बलरमवापुर गैडाहवामा समेत क्वारेनटाइन स्थापना गरी दैनिक रुपमा खाना, स्वास्थ्य जाँच तथा सरसफाईमा ध्यान दिइएको छ ।
कुशहवामा राहत वितरण गर्दा विपक्षीले सबैलाई राहत दिनु पर्छ भनेर अवरोध सिर्जना गरेको नगरपालिकाले जनाएको छ । विपदको वेलामा वडा कार्यालयले सम्वन्धित वडाका गरिव असाहय र ज्यालादारी खानेलाई मात्र राहत वितरण गर्ने योजनाअनुसार नै राहत वितरण सूरु गरिएको नगरपालिकाले जनाएको छ ।
यसैबीच नेकपा महाराजगञ्ज नगर समितिले कार्यविधी र मापदण्ड अनुसार मापदण्ड विपरित राहत वितरण गरेको भन्दै नगर अध्यक्ष विजय प्रकाश जयजवालले विज्ञप्ती जारी गरेका छन् । पार्टीगत राहत वितरण नगरी वास्तविकताको आधार र सरकारको मापदण्ड अनुसार राहतवितरण गर्न ध्यानार्कषण गराएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६ आइतबार ००:००  ७ : १४ बजे