मायादेवी अनलाइन, चारनम्बर ।
नोबेल कोरोना भाइरस (कोभिड १९) को जोखिम न्यूनिकरण गर्नका लागि कपिलवस्तुमा हालसम्म ७ सय ८९ जनालाई क्वारेनटाइनमा राखिएको छ । भारतसंगै तेस्रो मूलुकबाट आएका यी नागरिकलाई क्वारेनटाइनमा राखिएको हो । यी मध्ये ९५ प्रतिशत भारतबाट आएका हुन् ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आइतबार उपलब्ध गराएको तथ्याङ्क अनुसार अहिलेसम्म ९८ जनालाई डिस्चार्ज गरिसकिएको छ । १४ दिन क्वारेनटाइनमा राखेर उनीहरुलाई आ–आफ्नो घर पठाइएको हो । यद्यपि उनीहरुको स्वाव भने परिक्षण गराइएको छैन । कोरोना लागेको छ छैन भन्नका लागि स्वाब परिक्षण अनिवार्य गर्नुपर्छ । तर, कपिलवस्तुमा १४ दिन पुगेपछि स्वाव परिक्षण विनै घर पठाउने गरीएको छ । यसो गर्दा कोरोनाको संक्रमण बढ्ने हो कि भनेर जिल्लाबासी त्रासमा पर्दै आएका छन ।
कतिपय कोरोना संक्रमितलाई तत्काल लक्षण नदेखिने भएकोले पनि यो खतरा पछि देखिने स्वास्थ्यकर्मी बताउँछन । गम्भिर प्रकृतीका विरामीलाई मात्र कोरोना आशंकाले स्वाब परिक्षण गर्ने गरिएको छ । स्वाब परिक्षणका लागि काठमाडौं पठाउनुपर्ने हुँदा समस्या भएको सरोकारवाला बताउँछन । अब प्रदेशको बुटवलमा स्वाब परिक्षण गर्ने प्रविधि आएकोले सहज हुने विश्वास लिइएको छ ।
जिल्लामा अहिले एक जना मात्र कोरोनाको आशंकामा आइसुलेसनमा राखिएको छ । उनको स्वास्थ्य रिर्पोट अझै आएको छैन । जिल्लाको विजयनगरमा घर भएका ती व्यक्तिलाई कोरोनाको लक्षण देखिएपछि शनिबार तौलिहवाको आइसुलेसनमा भर्ना गरिएको थियो ।
खुल्ला सिमा नाकाका कारण भारतबाट आउनेलाई कडाई गर्न समस्या भैरहेको छ । अधिकांश लुकीछिपी जिल्ला प्रवेश गरेर घरमै बस्ने गरेका छन । तर, आइतबारसम्म जिल्लामा ६ सय ११ जनालाई क्वारेनटाइनमा राखिएको छ ।
१० स्थानीय तहले बनाएका क्वारेनटाइनमा राखिएका व्यक्तिहरु सबैभन्दा बढी महाराजगञ्ज नगरपालिकामा १ सय ८६ जना छन भने सबैभन्दा कम वाणगंगा नगरपालिकामा ४ जना रहेका छन । यस्तै विजयनगर गाउँपालिकामा १ सय ४५, मायादेवी गाउँपालिकामा ७४, यशोधरा गाउँपालिकामा ६९ जना क्वारेनटाइमा रहेका छन । यसैगरी कृष्णनगर नगरपालिकामा ५५, शुद्धोधन गाउँपालिकामा ५५, कपिलवस्तु नगरपालिकामा ५१, बुद्धभूमि नगरपालिकामा ३२ र शिवराज नगरपालिकामा २० जना क्वारेनटाइनमा रहेका छन ।
क्वारेनटाइनमा रहेकालाई सम्बन्धित स्थानीय तहले खान, बस्नको सुविधा दिएका छन भने शिवराज नगरपालिका र कपिलवस्तु नगरपालिकाले इन्टरनेटको सुविधा पनि दिएका छन ।
नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या ९ पुगेपछि लकडाउनलाई थप कडाई पारिएको छ । भारतीय सिमानाकामा प्रहरी र सशस्त्र परिचालन गरिएको छ भने एक पालिकाबाट अर्को पालिकामा आवात जावत गर्नेक्रमको पूर्णतया बन्द गरिएको छ ।
२३ चैत्र २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया