११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

बेलायतको पार्टीको नेतामा स्टर्मर निर्वाचित



एजेन्सी ।
बेलायतको प्रमुख विपक्षी लेबर पार्टीको नेतामा सर कीर स्टर्मर निर्वाचित भएका छन् । पार्टी नेताका लागि उनीसँग रेबेका लन्ग–बेली र लीसा नन्दीलाई हराउँदै ५७ वर्षीय स्टर्मर चयन भएका हुन् ।कीर स्टर्मरले २ लाख ७५ हजार ७ सय ८० भोट अर्थात ५६।२ प्रतिशत मत पाए भने रेबेका लन्ग–बेलीले १ लाख ३५ हजार २१८ अर्थात २७।६ प्रतिशत मत पाइन् । यस्तै लीसा नन्दीले ७९ हजार ५ सय ९७ अर्थात १६।२ प्रतिशत मत पाएकी थिइन् ।

यो मतदानमा भाग लिन ७ लाख ८४ हजार १५१ जना योग्य मतदाता थिए । तर मतदानमा ४ लाख ९० हजार बढीले मात्रै भाग लिएका थिए ।यसअघि लेबर पार्टीको नेतृत्व जेरेमी कोर्बिनले गरिरहेका थिए । पेशाले वकिल रहेका स्टर्मर पहिलो पटक सन् २०१५ मा सांसद निर्वाचित भएका थिए ।उनी पार्टी नेताको निर्वाचनको पहिलो चरणको मतगणनामा नै ५० प्रतिशत भन्दा बढी मतका साथ अगाडि थिए । उनले भने, ‘मेरो उद्देश्य लेबर पार्टीलाई नयाँ आशा र विश्वासका एक नयाँ युगमा लिएर जाने हो ।’

पार्टीका तर्फबाट जारी गरिएको एक भिडियो सन्देशमा उनले भने, ‘पार्टी नेतामा निर्वाचित हुनु मेरा लागि गर्व र सम्मानको कुरा हो । समय आएपछि एक पटक फेरि लेबर पार्टीले सरकार निर्माण गरेर देशको सेवा गर्न सक्नेछ ।’ लेबर पार्टीको उपनेतामा छायाँ शिक्षामन्त्री एन्गेला रेनेरलाई चयन गरिएको छ । उनले अन्य चार नेतासँग प्रतिस्पर्धा गरेकी थिइन ।

प्रकाशित मिति : २३ चैत्र २०७६ आइतबार ००:००  ८ : २१ बजे