एजेन्सी ।
कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन एक हजार ४८ जनाको ज्यान गएको छ। अमेरिकामा मृत्यु हुनेको संख्या आठ हजार चार सय ५२ पुगेको छ। आज बिहानसम्मको तथ्यांक अनुसार, त्यहाँ ३ लाख ८ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ। शनिबार एकै दिन न्यूर्योकमा कोरोना भाइरसका कारण कम्तिमा ६३९ जनाको मृत्यु भएको छ । योसँगै राज्यमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या तीन हजार ५६५ पुगेको छ । न्यूयोर्क राज्यमा संक्रमितको संख्या एक लाख १३ हजार सात सय भन्दा बढी रहेको छ ।
अमेरिकापछि स्पेनमा संक्रमणदर उच्च देखिएको छ। स्पेनमा १ लाख २६ हजार १ सय ६८ मा कोरोना संक्रमण पुष्टि भएको छ। इटालीमा १ लाख २४ हजार ६ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या ६४ हजार ६ सय ६ पुगेको छ।
१२ लाख भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । त्यस्तै, २ लाख ४६ हजार १ सय ८ जना उपचारपछि निको भएका छन् । डिसेम्वरको अन्तिममा चीनको वुहान शहरबाट फैलन सुरू गरेको कोरोना भाइरसको संक्रमण तिब्ररूपमा बढेको छ ।
एक अध्ययनका अनुसार करिव ४ महिनाको अवधिमा चीनमा देखिएको संक्रमितको संख्या भन्दा विश्वमा पछिल्लो १ दिनमा संक्रमण देखिनेको संख्या बढी छ । चीनमा हालसम्म ८१ हजार ६ सय ३९ जना संक्रमित देखिएका छन् ।
पछिल्लो १ दिनमा चीनमा नयाँ संक्रमित देखिएका छैनन् । तर, विश्व भरमा भने पछिल्लो १ दिनमा ८२ हजार ४ सय २ जना संक्रमित बढेका छन् ।
प्रतिक्रिया