११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

कोरोना महामारीः अत्यावश्यक सामग्रीको अभाव टार्दै सांसद पन्थी



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुका प्रदेश सांसद विष्णु पन्थी कोरोना विरुद्धको अभियानमा निरन्तर कार्यक्षेत्रमा खटिनु भएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस रोकथाममा सरकारले गरेको लकडाउन हुनु अघिदेखि नै कोरोना विरुद्धको अभियानमा सकृय हुनुभएको छ । उहाँले जिल्लामा कोरोना भाइरसबाट जोगिन प्रदेश सरकारको भूमिका, स्थानीय तहले अपनाउनुपर्ने सचेतना, आवश्यक तयारी र योजनाका बारेमा निरन्तर लागिरहेको जानकारी दिनुभयो ।
सांसद पन्थीले जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख उप–प्रमुखहरुसंग कोरोना माथि विजय हासिल गर्न र समुदायलाई सुरक्षित राख्न नियमित समन्वय र सहकार्य गरिरहेको जानकारी दिनुभयो । सांसद पन्थीले सरकारले गरेको लकडाउनलाई अनुशासित ढंगले पालना गर्न सुझाउँदै सामाजिक दुरी कायम गरेर बस्नुपर्ने बताउनुभयो ।
कपिलवस्तुमा कोरोना भाइरस विरुद्ध चाहिने अत्यावश्यक सामग्री समेत अभाव भएपछि त्यसको व्यवस्थापनमा खटिनुभएको छ । सांसद पन्थीले कोरोना भाइरससंग पहिलो पंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षा निकाय र संचार संस्थालाई अत्यावश्यक सामग्री वितरण गर्नुभएको हो । उहाँले पटक पटक गरी व्यक्तिगत सुरक्षा उपकरण (पिपिई), मास्क, सेनिटाइजर सामग्री विभिन्न निकायलाई प्रदान गर्नुभएको छ ।
कपिलवस्तुका सरकारी तथा निजी अस्पताल, प्रहरी प्रशासन, संचार माध्यमहरुलाई ती सामग्री हस्तान्तरण गर्नुभएको हो । उहाँले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र उपचारका लागि आवश्यक व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) पिपरा अस्पताल, सामुदायिक अस्पताल, बुद्धभूमि नगरपालिका, निजी अस्पतालहरु सि एण्ड सि, युनाईटेड नेशनल, थापा मेडिकललाई वितरण गर्नुभएको छ ।
थापा मेडिकलका स्वास्थ्यकर्मी विक्रम थापाले व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) ग्रहण गर्दै कोरोना भाइरसको संक्रमणको जोखिम कम हुने बताउदै जनतालाई नियमित स्वास्थ्य सेवा दिइरहेको बताउनुभयो ।
त्यस्तै युनाइटेड नेशनल हस्पिटलका कार्यकारी निर्देशक सुन्दर आचार्यले दिनरात विरामीको उपचारमा खटिरहेका स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने पिपिई नहुँदा जोखिम मोलेर स्वास्थ्य सेवा दिँदै आएको बताउनुभयो ।
त्यस्तै नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले प्रदेश सांसद विष्णु पन्थीले संचारमाध्यम र कार्यरत संचारकर्मीलाई माक्स र सेनिटाइजर उपलब्ध गराएर धेरै राहत मिलेको बताउनुभयो ।
कपिलवस्तु जिल्लाबाट प्रतिनिधि र राष्ट्रिय सभा गरी ६ जना सदस्य र प्रदेश सभाका १२ सदस्यहरु छन् । ती जनप्रतिनिधिहरुले मुलुकमा निम्तिएको संकटमा के गरीरहेका छन् भन्नेमा जनताको चासो देखिएको छ । अप्ठ्यारो परिस्थितीमा उनीहरुको भूमिका खोज्नु र सहयोगको अपेक्षा राख्नु जनताको अधिकार समेत हो ।

प्रकाशित मिति : २३ चैत्र २०७६ आइतबार ००:००  ६ : २५ बजे