५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

यशोधरा गाउँपालिकामा राहत वितरण सुरु, एक हजार बढीलाई दिने लक्ष्य



मणि प्रसाद गैह्रे, तौलिहवा ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणको लागि गरिएको लक डाउनको चपेटामा परेका गरिब मजदुर वर्गलाई यशोधरा गाउँपालिका कपिलवस्तुले राहत वितरण सुरु गरेको छ ।
गाउपालिका भित्र रहेका एक हजार २ सय गाउँबासीलाई राहत वितरण गर्ने योजना अनुसार कार्य अगाडी बढेको गाउँपालिकाले जनाएको छ । कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि नेपाल सरकारले लागु गरेको लकडाउनको मारमा परेका नागरिकहरुको लगत संकलन गरी राहत दिने निर्णय अनुसार आवश्यक खाद्यान्न वितरण कार्य सूरु गरिएको छ ।
यशोधरा गाउँपालिकाको वडा नं. १ मा १ सय ५० घरपरिवारलाई राहत स्वरुप प्रति घरपरिवारलाई चामल १० केजी, पिठो ५ केजी, दाल २ केजी, तेल १ केजी, चिनी १ केजी, साबुन २ पीस, मसला एव चियापत्तीलगायत सामग्रीहरु वितरण गरिएको गाउँपालिका अध्यक्ष गिरिजेश कुमार पाण्डेयले बताए ।
वितरण कार्यक्रममा वरिष्ठ अधिवक्ता सुधाकर पाण्डेय, वडा नं. १ का वडा अध्यक्ष शिवपुजन पासी, जिल्ला समन्वय समितिका सदस्य अनुप कुमार पाण्डेय, पशु विकास अधिकृत अब्दुल सलामलगायतको सहभागिता रहेको थियो ।
गाउँपालिका क्षेत्र भित्रका गरिव विपन्नलाई तथ्याङ्कको आारमा निरन्तर राहतवितरण गरिने गाउँपालिकाका अध्यक्ष गरिजेश कुमार पाण्डेयले बताए । तत्काल १ हजार २ सय परिवारलाई वितरण गरिए पनि पछि गाउँवासी अन्यलाई समस्या परेमा थप राहत वितरण गरिने समेत गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७६ शनिबार ००:००  १ : ४८ बजे