मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुका विभिन्न स्थानमा स्थानीय सरकारले निर्माण गरेका क्वारेनटाइनमा बस्ने नागरिक दैनिक रुपमा बढिरहेका छन् । कोरोना भाइरस (कोभिड १९) को जोखिम न्यूनिकरणका लागि जिल्लाका १० स्थानीय तहले बनाएका क्वारेनटाइनमा बसोबास गर्ने नागरिक बढेका हुन् । कोरोना संक्रमणको आशंका गरिएका र भारत लगायत तेस्रो मुुलुकबाट आउने नागरिक अनिवार्य क्वारेनटाइनमा बस्नुपर्ने हुन्छ । सोही अनुसार बुधबारसम्म कपिलवस्तुमा ५ सय २० जनालाई क्वारेनटाइनमा राखिएको छ ।
मुलुक लकडाउन भएसंगै तेस्रो मुलुकबाट आउने नागरिक नेपाल भित्त्रन नपाएपनि खुल्ला सिमा नाकाका कारण भारतबाट आउने नेपाली नागरिक बढी रहेका छन । नाकामा अलपत्र परेकाहरु विभिन्न नाकाको प्रयोग गरी नेपाल छिरिरहेका हुन् । भारतीय सिमावर्ती कपिलवस्तुमा पनि यो समस्या विकराल अवस्थामा छ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बुधबार साँझ उपलब्ध गराएको तथ्याङ्क अनुसार जिल्लाका १० स्थानीय तहमा तयार पारिएका क्वारेनटाइनमा ५ सय २० जना रहेका छन । जसमा सबैभन्दा बढी महाराजगञ्ज नगरपालिकामा १ सय ४९ जना क्वारेनटाइमा छन । भारतीय सिमावर्ती यो नगरपालिकामा क्वारेनटाइनमा बस्ने नागरिक बढेको बढै छन् ।
यसैगरी विजनगर गाउँपालिकामा १ सय २१ जनालाई क्वारेनटाइनमा राखिएको छ भने शुद्धोधन गाउँपालिकामा ६१ जनालाई क्वारेनटाइन राखिएको छ ।
कृष्णनगर नगरपालिकामा ४८, शिवराज नगरपालिकामा ४१, कपिलवस्तु नगरपालिकामा ४३, मायादेवी गाउँपालिकामा ४०, बुद्धभूमि नगरपालिकामा १२, यशोधरा गाउँपालिकामा ३ र वाणगंगा नगरपालिकामा २ जनालाई क्वारेनटाइनमा राखिएको छ ।
क्वारेनटाइनमा बस्नेहरुलाई खाना र बस्नको व्यवस्था सम्बन्धित स्थानीय तहले गरेका छन भने दैनिक स्वास्थ्य चेकजाँच पनि भैरहेको सम्बन्धित स्थानीय तहले जनाएका छन ।
जिल्लामा अहिलेसम्म ८ सय २२ बेडको क्वारेनटाइन निर्माण गरिएको छ । जसमा ८ वटा आइसुलेसन कक्ष तयार पारिएको छ । हालसम्म जिल्लामा कोरोना भाइरसको कुनै संक्रमित छैनन् भने आइसुलेसनमा राख्नुपर्ने विरामी पनि नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्लाका क्वारेनटाइनमा राखिएका मध्ये ९५ प्रतिशत भारतबाट आएकाहरु हुन । १४ दिन अनिवार्य क्वारेनटाइनमा बस्नुपर्ने भएकोले यिनीहरुलाई राखिएको हो । १४ दिन पुगेकाहरुलाई स्वास्थ्य जाँच गराएर घरमा पठाइरहेको शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले मायादेवीलाई जानकारी दिनुभयो ।
प्रतिक्रिया