मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले कोरोना विपत्तिमा सहयोग गर्नेहरुको लागि बाटो खुला गरेको छ । ‘दैवी प्रकोप कोष’ खडा गरेर नगरले यस कोरोनाको महाविपत्तिमा सहयोग गर्नका लागि सबै नगरबासीलाई अपिल गरेको हो ।
कोरोनाबाट बच्न सरकारले मुलुकलाई लक डाउन गरेको अवस्थामा ज्याला मजदुरी गर्ने नागरिक समस्यामा परेको हुनाले उनीहरुलाई यति बेला सबैको सहयोग जरुरी भएको नगरको ठम्याइ छ । त्यसको लागि नगरले राष्ट्रिय बाणिज्य बैङक जितपुर शाखामा खाता समेत खोलेको छ । सहयोग गर्न इच्छुकहरुले दैवी प्रकोप कोषको खाता नम्बर ३५३००००५८००१ मा जम्मा गर्न सक्ने उपमेयर चक्र अर्यालले जानकारी गराउनु भयो ।
कोषमा जम्मा भएको रकमले अति विपन्न श्रमिक मजदुरहरुलाई राहत दिने, तयार पारिएका क्वारेनटाइनको स्तरउन्नति गर्ने, क्वारेनटाइन र आइसुलेसनको संख्या बढाउने लगायतका कार्यमा खर्च हुने प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले जानकारी दिनुभयो ।
उहाँले कोरोनाको विपत्तिबाट जोगिनको लागि नगरले सम्पूर्ण तयारी गरेको भन्दै समस्या पर्दा तुरुन्त सम्पर्क गर्न पनि अनुरोध गर्नुभयो । यो कोष अहिलेको लागि मात्रै नभएर नगरमा हुने बिभिन्न प्राकृतिक विपत्तिको लागि खर्च गरिने पनि नगरपालिकाले जनाएको छ ।
यसैबीच राहत बाँड्दा नगरले एकद्धार प्रणाली अपनाउने भएको छ । ब्यक्तिगत तथा मनमर्जी तवरले राहत बाँड्दा त्यो अपार्दशी हुने, सम्बन्धित व्यक्तिसम्म नजाने, सहयोगको एकिन तथ्यांक संकलन नहुने, कालोबजारी हुने लगायतका समस्या सिर्जना हुने भएकाले नगरले खडा गरेको कोषबाट मात्र राहत बाँडिने नगर प्रमुख मंगल प्रसाद थारुले जानकारी दिनुभयो ।
नगर प्रमुख थारुले यो विपत्तिमा सबैले आ-आफ्नो स्थानबाट असल नागरिकको भूमिका निभाउन पनि आग्रह गर्नुभएको छ । नगरका १० वडामा रहेका कुनै पनि जनप्रतिनिधिले अबदेखि ब्यक्तिक ढंगल राहत बाँड्न पाउने छैनन् ।
त्यस्तो भएको देखिए त्यस्ता जनप्रतिनिधिलाई पनि कारबाही गरिने उपमेयर अर्यालले जानकारी दिनुभयो । अर्यालले नगरका अस्पतालमा समस्या भएको स्विकार गर्दै अब स्वास्थ्य सामाग्री अभाव भइ विरामीले दुख पाउनु पर्ने अवस्था आउन नदिन पनि पहल गर्ने बताउनु भयो ।
यो कोरोना महाविपत्तिबाट जोगिनको लागि के गर्दा उचित हुन्छ भन्नेबारे पनि नगरपालिकाले दैनिक सुझाव सल्लाहा लिइरहेको कार्यकारी प्रमुख पन्थीले बताउनु भयो । दैनिक नगरको खुला चौरमा बिभिन्न संघसंस्थाहरुसंग छलफल र समन्वय गरी अब कसरी अगाडी बढ्ने भन्ने विषयमा रणनीति बनाइरहेको छ । बुधबार पनि स्वास्थ्यकर्मी, संचारकर्मी, उद्योग बाणिज्य संघ र अन्य सामाजिक संघसंस्थाका प्रतिनिधिसंग छलफल गर्यो ।
छलफलको क्रममा यो विपत्मा बाणगंगा नगरमा कपिलवस्तु उद्योग बाणिज्य संघले महत्वपूर्ण भूमिका निभाएकाले अध्यक्ष उमानाथ पौडेलको प्रसंसा भएको थियो । अध्यक्ष पौडेलले पनि यो लडाइमा आफ्नो तर्फबाट कुनै कुराको कमि हुन नदिने प्रतिवद्धता जनाउनु भयो । छलफलमा सहभागी भएकाहरुले कोरोनाबारे जनतालाई सही सूचना दिन मायादेवी अनलाइन तथा रेडियोले खेलेको भूमिकाको प्रसंसा गर्दै नगरसंग थप समन्वय गर्न पत्रकारहरुलाई आग्रह गरेका छन् । साथै उनीहरुले नगरले अब एक्सनमा काम गर्नु पर्ने सुझाव पनि दिएका छन् ।
प्रतिक्रिया