काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । कोरोना भाइरसको संक्रमण रोक्नका लागि चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता गरेको भन्दै उनीविरुद्ध उजुरी दर्ता भएको हो ।
विवेकशील नेपाली दलका नेता तथा बागती प्रदेशसभा सदस्य रमेश पौडेलले मन्त्री ढकालविरुद्ध बुधबार अख्तियारमा उजुरी हालेका हुन् । सांसद पौडेलले कोरोना रोकथामका लागि चीनबाट किनिएको स्वास्थ्य सामग्रीमा अनियमितता गरेको आरोप लगाएका छन् ।
स्वास्थ्य मन्त्रालयले बजार भाउभन्दा चार गुणासम्म महँगो मूल्यमा चीनबाट मेडिकल सामग्री किनेको आरोप लगाउँदै प्रदेशसभा सदस्य पौडेलले सरकारको अनियमितताका विषयमा आवश्यक छानविन गर्न अख्तियारमा उजुरी पेस गरेका छन् ।
स्वास्थ्य मन्त्रालयले चीनबाट ल्याएका कोरोना भाइरसको रोकथाममा प्रयोग गरिने सामग्री गुणस्तरहीन र अत्यधिक महँगो भएको भन्ने जनगुनासो बढिरहेकै बेला स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी परेको छ । सरकारले भने अभावका बेला सामान किन्दा महँगो परेको भन्दै बचाउन गर्ने गरेको छ ।
यसैबीच, चर्को मूल्यमा चीनबाट ल्याइएका र्यापिड टेस्टिङ किट गुणस्तरहीन भएको भन्दै प्रयोग नगर्ने निर्णय स्वास्थ्य मन्त्रालयले नै गरिसकेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री मन्त्रीका स्वास्थ्य सल्लहाकार डा। खेम कार्कीले यस्ता र्यापिङ टेस्ट किट तत्काल प्रयोग नगर्न निर्देशन दिएका थिए ।
विश्व स्वास्थ्य संगठनले कोरोना रोकथामको सबैभन्दा गतिलो उपाय बढी भन्दा बढी परीक्षण भनेको छ । तर, गुणस्तरहीन भएपछि सरकारले महँगो मूल्यमा चीनबाट ल्याएका ५७ हजार थान र्यापिङ टेस्टिङ किट प्रयोग नै नगरी राखिएको छ ।
प्रतिक्रिया