विराटनगर ।
अस्पतालले उपचार गर्न नमानेपछि विराटनगरमा एक महिलाको मृत्यु भएको छ । विराटनगरका निजी स्वास्थ्य संस्थाले उच्च ज्वरो देखिएका बिरामीको उपचार गर्न अस्वीकार गरपछि धनकुटाको महालक्ष्मी नगरपालिका ५ लेगुवाबाट उपचारका लागि ल्याइएकी ५२ वर्षीया नरदेवी गुरुङको मंगलबार मृत्यु हो । गुरुङको स्वास्थ्यमा समस्या देखिएपछि स्थानीय क्लिनिकमा उपचारका क्रममा उच्च रक्तचाप देखिएपछि उनलाई सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको थियो । उनलाई परिवारका सदस्यले एम्बुलेन्समा राखेर धरानस्थिति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइएको थियो ।
उनकी छोरी लक्ष्मी गुरुङका अनुसार प्रतिष्ठानमा चेकजाँचका क्रममा १०२ डिग्री ज्वरो देखिएकाले नरदेवीलाई आइसियुमा राखेर उपचार गर्नु पर्ने चिकित्सकहरू बताएका थिए । तर, चिकित्सकहरूले प्रतिष्ठानमा आइसियु खाली नभएको भन्दै विराटनगरको न्युरो अस्पताल रेफर गरेका थिए । न्युरोमा नर्सहरूले उपचार सुरु गरेपछि चिकित्कहरू आएर भेन्टिलेटर खाली नभएको र ज्वरो आएका बिरामीको उपचार गर्न नसकिने भन्दै उपचार गर्न अस्वीकार गरेको छोरी लक्ष्मीको भनाइ छ ।
त्यसपछि बिरामी नरदेवीलाई विराट नर्सिङ होम विराटनगर पुर्याइयो । त्यहाँका चिकित्सकहरूले पनि अरू अस्पतालले उपचार गर्न नमानेका बिरामीको उपचार गर्न नसकिने भन्दै दुर्व्यहार गरेको लक्ष्मीले गुनासो गरिन् । त्यसपछि नोबेल शिक्षण अस्पताल पुर्याइएकोमा उपचारकै क्रममा उनको त्यही मृत्यु भएको हो । चिकित्सकहरूले ल्याउन ढिला भएकाले बचाउन नसकिएको बताएको लक्ष्मीको भनाइ छ ।
प्रतिक्रिया