चन्द्रकान्त न्यौपाने ।
‘बरु हामी यही दशगजामा भोकै बसेर मर्न तयार छौं तर भारततर्फ जाँदैनौं,’ नेपाल भारत सिमानाका सुनौलीमा २ दिनदेखि अलपत्र परेका सयौँ नेपालीहरुले चिच्याउँदै यो विन्तीभाउ गर्दा स्थिति साँच्चै कहाली लाग्दो थियो । कतिले भन्दै थिए ‘हिजो हामीलाई भारतमा बस्न नदिएर नेपाल आउन बाध्य बनाइएको थियो ।’ मुखमा बिभिन्न रङका मास्क लगाएका केहीले विपतमा परेका आफ्नै नागरिकलाई नेपाल सरकारले उद्धार गर्नुको सट्टा भारततर्फ नै धकेलेर आफ्नो दायित्वबाट पन्छिएको आरोप लगाउँदै थिए त कतिले सरकारको चर्को विरोध गर्दै थिए । तै पनि आफ्नो देशमा जान पाइन्छ कि भन्ने आशा बोकेका नेपालीको त्यो झिनो आशाको त्यान्द्रो त्यतिखेर चुँडियो जतिखेर भारतका चार–पाँचवटा बस त्यहाँ आए । बस आइसकेपछि दादागिरी शैलीमा भारतीय प्रहरीले खेद्दैै, लाठी चार्ज गर्न तम्सिएपछि जवरजस्त उनीहरु बसमा कोचिए । सबै रोए । कराए । चिच्याए । बसमा नचढी भएन । झण्डै चार सयको संख्यामा रहेका नेपालीलाई ९ किमी पर नौतनवास्थित नौतनवा इन्टर कलेजमा व्यवस्थित रुपमा राखिने भारतीय सुरक्षा अधिकारीले जनाएका छन् ।
भारत फर्किनै लाग्दा वसमा बसेकी अर्घाखाँची पणेनीकी शान्ता विकको विलौनाले बसमा चढेका मात्रै होइन हामी सबैलाई स्तब्ध बनाउँछ । आफन्तको छातीमा टाँसिएर घुँक्कघुँक्क रुँदै उनी भन्दै थिइन, “बरु म यहीँ मर्छु आज मेरो देश नै पराइ बन्यो ।’ आखिर मर्न नै छ किन अर्काको देशको माटोमा मर्नू । नाइँ । म जान्नँ । जान्नँ ।” यतिखेर बसका सबै स्तब्ध थिए । कतिले मुटु दरो बनाउँदै आफ्नै सरकारको चर्को विरोध गर्दै थिए, सरकारले आफूहरुमाथि विभेद गरेको भनेर ।
यति मात्रै होइन पश्चिम नेपालको भारतीय नाका धार्चुलामा पनि सयौँ अलपत्रमा परेका छन् । त्यहाँ त भारतीय प्रहरीले लाठी नै चार्ज र बुट प्रहार गरेर भीँड नियन्त्रणमा लिएको थियो । एक जना युवकले त महाकाली नदीमै हामफाली पौडेरै आफ्नो भूमिमा फर्किए । भारतको पिथौरागढस्थित पञ्चाचुली हिमाली क्षेत्रमा सडक खन्दै गर्दा बैतडीका लोकेन्द्र बोहरा कोरोनाको महामारीपछि यो चुनौति मोलेर आफ्नो देश फर्केका हुन् । अहिले उनी दार्चुलाको क्वारेनटाइनमा छन् । तै पनि उनलाई प्रहरीले नेपाल आउन दिएको थिएन । यस्तै अन्य सिमा नाकामा सयौँ नेपाली अलपत्र परेका छन् । कतिलाई नेपाल फर्कन दिइएको छ त कतिलाई भारत नै फर्काइएको छ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल फर्किएकालाई १४ दिन अनिवार्य क्वारेनटाइनमा बस्न लगाउने र निगरानी समेत राख्न निर्देशन दिइसकेको अवस्थामा सुनौली लगायतका नाकामा नेपालीमाथि गरिएको विभेदले धेरै प्रश्न निम्त्याएको छ ।
अब चीनको कुरा गरौँ । ११ मिलियनभन्दा बढी मानिसको बसोवास रहेको वुहानमा २०१९ डिसेम्बरको अन्तमा जब कोरोना भाइरस देखियो । विस्तारै बुहान थिलोथिलो भयो । त्यहाँका ११ मिलियन नागरिक मात्र त्रसित भएनन्, विश्वभर यसको भय भयानक भयो । चीनको बुहानमा कोरोनाका कारण भटाभट मानिसको मृत्यु हुन थालेपछि बिभिन्न शिलशिलामा बसोबास गरिरहेका करिब ७ हजार नेपालीको अवस्था के हुने भन्ने चिन्ता थपियो । यता परिवारले पनि आफ्ना सन्तानको उद्धार गर्न भन्दै सरकारलाई दबाब दिइरहेका थिए । बुहानका नेपाली पनि सरकारले आफूहरुलाई उद्धार गर्नुपर्ने भन्दै सामाजिक संजालबाट हार गुहार गरिरहेका थिए । तीव्र गतिमा फैलने क्षमता रहेको कोरोना नेपालमा पनि फैलन सक्ने भन्दै ती नेपालीलाई ल्याउने कि नल्याउने भन्दै पर्ख र हेरको अवस्थामा सरकार थियो । अन्ततहः सबैतिरबाट दबाब आएपछि नेपाल सरकारले निर्णय गर्यो । ती नेपालीलाई ल्याउने । त्यसपछि बुहानका १ सय ८० नेपालीलाई ल्याउन ३ फागुनमा नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले उडान भर्यो । एयरबस ३३०–२०० सिरिजको दुई सय ७४ सिटे जहाज चीनको वुहान गएन मात्र त्यहाँ अलपत्र परेका नेपालीलाई लिएर आयो । उनीहरु भक्तपुरको खरिबोटमा बनेको क्वारेनटाइनमा २१ दिन बसेपछि घर फर्किका छन् ।
यी त प्रतिनिधि घटना मात्रै हुन् । महामारी फैलिएका बिभिन्न देशमा रहेका हजारौँ नेपालीलाई अहिले भोक न निन्द्रा भएको छ । यस्तै कतिपय तेश्रो देशका नागरिकलाई लक डाउन भएर अन्तर्राष्ट्रिय उडान हुन नपाउने स्थितिमा पनि जडाज चार्टर गरी छिटफुट रुपमा ल्याउँदै छ सरकारले ।
सरकारले सीमामा आवतजावत रोके पनि स्वदेश फर्किन लागेका आफ्ना जनतालाई रोक्न नमिल्ने बताइसकेको छ । तर यस्तो अवस्थामा भारत र चीनमा रहेका नागरिकमाथि भने सरकारले विभेदपूर्ण ब्यावहार गरेको छ । ‘चीनमा अलपत्र परेका नेपाली नागरिकलाई जहाज चार्टर गरेर नेपाल ल्याएको सरकारले भारतीय सिमामा अलपत्र परेका नागरिकलाई नेपाल भित्राएर ब्यवस्थापन गर्न त सकेन सकेन । उल्टै उनीहरुको ढाडमा भारतीय पुलिस फोर्सको बुट र लाठी बजार्न बाध्य बनायो । उनीहरुले कम्तिमा पनि सम्मान पूर्वक नेपाली भूमिमा जान पाऊँ र यतैको क्वारेनटाइनमा बस्न पाऊँ भनी अनुनयविनय गर्दा पनि उनीहरुलाई अपमान गरी फर्काइनु र नेपाल प्रवेश नदिनुले नेपालको परराष्ट्र र कुटनीतिक नीति माथि पनि प्रश्न तेश्राएको छ ।
हो, कोभिड–१९ खतनाक भाइरस हो । यसले विश्वका २ सय २ बढी देशलाई आकुलब्याकुल बनाएको छ । यसैको मारमा भारत पनि परेको छ । भारतमा पछिल्लो ४ सातामा करिब ४० जनाको मृत्यु भएको छ भने हजारौँ संक्रमित छन् । त्यसैकारण भारत अहिले लामो लक डाउनमा छ । यसैको कारण भारतमा दैनिक ज्याला मजदुरी गरी खाने नेपाली परिवार पनि चरम मारमा परेका छन् । एकातर्फ मुखमा लगाउने माड समेत नभएको अवस्था र अर्को तर्फ तीव्र गतिमा फैलिरहेको कोरोनाको कहर । यस्तो अवस्थामा नेपाल भारतमा लकडाउन भएको खबर थाहा पाएरै पनि ती नागरिकलाई आफ्नो भूमि फर्कनु उनीहरुको अधिकार पनि हो ।
भारतीय सिमा नाकामा अलपत्र परेका नेपालीलाई जहाज चार्टर गरेर नेपाल भित्राउनु पर्छ भनेको होइन तर रातारात हिँडेर आफ्नो भूमिसम्म आइसकेको अवस्थामा अभद्र ब्यवहार गरी पुनः भारततर्फ फर्काउनु नेपाल सरकारको कमजोरी र लाचारीपना हो । भारतमा लाखौँको संख्यामा दैनिक मजदुरी गरी खाने नेपाली छन् । त्यसमध्ये हिम्मत राख्नेहरु हिँडेर आफ्नो देश आउन हार गुहार गरिरहेका छन् । तर सरकारले कहिँ पनि उनीहरुलाई ब्यवस्थापन गर्न सकेन । कुनै पनि देशको सिमा नाकामा अलपत्र परेकाको सम्मानित उद्धार गर्नु राज्यको दायित्व बिर्सेर रुवाउँदै भारततर्फै खेद्नुले मानवताको समेत धज्जी उडाएको छ । हो नेपाल र भारत सरकारकोबीचमा कोरोना महामारीका बेला सिमाका नागरिकलाई कतै प्रवेश नदिने सहमति छ । यो भन्दैमा उनीहरुलाई सडकमै भोकभोकै मर्न दिने ? प्रश्न गम्भिर छ ।
अरबौँको कोरोना कोष खडा गरेको सरकारले भारतमा अलपत्र परेका नेपालीलाई सुरक्षित तवरले नेपाल आउन दिएर मापदण्ड अनुसारको हजारौँ वेडको क्वारेनटाइन बनाउन सक्थ्यो । यो यस्तो बेला हो कि कोष नै नभए पनि सरकारको विकास बजेट कटाएर अथवा रकमान्तर गरेर भए पनि विपत्तीको महामारीबाट सबैलाई जोगाउनु पर्दछ । तर पनि विदेशबाट आउनेहरुको व्यस्थापनमा सरकारले खर्च गर्न सकेन ।
सबैलाई थाहा छ कोरोना प्रभावित देशबाट आएका जोकोहीबाट सिंगो देश नै असुरक्षित रहन्छ । तर ब्यवस्थित क्वारेनटाइन बनाएर उनीहरुलाई किन राख्न सकेन सरकारले ? प्रश्न यहाँ छ । न आउनु थिए आई सिमामा आइ हाले ? अब उनीहरुकोे वेवास्ता गर्ने कि ब्यवस्थापन गर्नेतिर लाग्ने ?
अझ विडम्बनाको कुरा त के छ भने सरकारका कर्मचारी र जनप्रतिनिधहरु उनीहरुको सम्पर्कमा जाँदा कोरोना सर्छ भन्ने डरले फोनबाटै जताबाट आएको त्यतै धपाउन आदेश दिए । यो सरकारका जिम्मेवार व्यक्तिको काँतरपन हो ।
यसले नेपालले कति भेदभावको व्यवहार गर्छ भन्ने कुरा पुष्टि गरेको छ । अर्को तर्फ नेपालीलाई रुवाउँदै सिमा नाकाबाट फिर्ता पठाउनुले नेपाल सरकारको कुटनैतिक क्षमता कति कमजोर रहेछ भनेर पनि प्रश्न गर्ने बनाएको छ । नेपाल सरकारले भारत सरकार र त्यहाँका कर्मचारीसंग बार्ता अलपत्र परेकालाई सम्मानित ब्यवहार गरी उनीहरुलाई उचित ब्यवस्था गर्नु पर्नेमा पर एक विद्यालयमा लगेर कोचेको छ । अब त्यहाँ उनीहरुको अवस्था के होला ? के खालान् ? यस्तो अवस्थामा पनि सरकारले सोच्दै नसोची कुनै जिम्मेवारी बोध भएको देखाएन । यसले पनि नेपाल सरकारको कोरोना जोखिम न्यूनिकरणको लागि भएको तयारीमाथि प्रश्न उठाएको छ । नेपाल सरकारलाई थाहा भएकै कुरा हो भारतमा लक डाउन हुन्छ । नेपालमा लक डाउन भएको केही दिनमै भारतमा पनि लक डाउन भयो । तर लक डाउनपछि भारतमा मजदुरी गर्ने नेपालीलाई कसरी ब्यवस्थापन गर्ने एक पटक पनि सोच्न भ्याएन । लक डाउनपछि पनि उनीहरुको सुरक्षार्थ भारत सरकारसंग पनि कुनै कुटनैतिक पहल गर्न सकेको पाइएन । यसबाट पनि नेपाल सरकारको कुटनैतिक क्षमता सारै कमजोर छ भन्ने कुराको पुष्टि हुन्छ ।
भारतमा दुःख पाएर नेपाल आउन बाध्य भएका आफ्ना नागरिकलाई उद्धार गरेर नेपालकै क्वारेनटाइनमा राख्नुको सट्टा सिमानामा तीन दिनसम्म रोकेर भारततर्फ नै फर्काउने काम नेपाल सरकारको गल्ती भन्दै स्थानीय स्तरमा नेपाल सरकार, प्रदेश र स्थानीय सरकारको आलोचना सुरु भएको छ । यो स्वाभाविक पनि हो । तसर्थ नेपाल सरकारले छिटै अर्को निर्णय गरेर भोक न तीर्खाले सिमामा छट्पटाएका नेपालीको उद्धार गरी नेपालमै ल्याएर ब्यवस्थापन गर्नु बाञ्छनीय देखिन्छ ।
प्रतिक्रिया