काठमाडौं ।
नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले भारतको नयाँ दिल्लीमा सम्पन्न मुस्लिम धर्मावलम्बीहरुको कार्यक्रममा सहभागी नेपालीका बारेमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग जिज्ञासा राखेका छन् ।
उनले नयाँ दिल्लीको निजमुद्दिनमा सम्पन्न सेक्ट तबलिगी जमातको भेलामा सहभागी नेपाली मुस्लिम धर्मावलम्बीहरुका बारेमा परराष्ट्रमन्त्री ज्ञवालीसँग जिज्ञासा राखेका हुन् ।
उक्त भेलामा सहभागी भारतीय नागरिकहरुमा कोरोना भाइरसको लक्षण देखिएको भन्दै महतले परराष्ट्रमन्त्री ज्ञवालीसँग फोनमार्फत जानकारी माग गरेका हुन् ।
“भारतमा मुस्लिम धर्मावलम्बीहरुको एउटा कार्यक्रम सेक्ट तबलिगी जमातको भेलामा २० जना नेपालीहरु सहभागी भएका थिए । ती नेपालीहरु भारतमा छन् कि नेपाल फर्किसके भनेर सहमहामन्त्रीज्यूले परराष्ट्रमन्त्रीज्यूलाई फोन गरेर ध्यानाकर्षण गराउनुभएको हो,” नेविसंघका नेता अनुराग शाहले भने ।
उनका अनुसार सहमहामन्त्री महतले मुस्लिम धर्मावलम्बीहरुको भेलामा को–को नेपाली सहभागी थिए, उनीहरु अहिले भारतमा छन् या नेपाल फर्किसके भनेर सरकारसँग केही जानकारी छ या छैन भनेर जिज्ञासा राखेको बताइएको छ ।
सहमहामन्त्री महतले मन्त्री ज्ञावालीसँग फोन संवाद गरेलगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत पनि सरकारलाई उक्त विषयका बारेमा पुनः ध्यानाकर्षण गराएका छन् । उनले भेलामा सहभागी नेपाली स्वदेश फर्किसकेका भए क्वारेन्टाइनमा राख्नुपर्ने वा नेपाल फर्किदै गरेका सीमाबाटै उद्धार गरेर क्वारेन्टाइनमा राख्नुपर्ने माग गरेका छन् ।
प्रतिक्रिया