राम प्रघट कोरी, विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा गाउँपालिका बाहिर र विदेशबाट आएका व्यक्तिहरुको घरमा रातो चिन्ह राख्न थालिएको छ । प्रत्येक वडामा सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत सोमबारदेखि रातो चिन्ह राख्न थालिएको हो ।
कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिए पछि हालसम्म आएका व्यक्तिहरुको घरमा उनीहरुको पहिचानका लागि रातो चिन्ह राख्न लागेको हो ।
भारत वा अन्य मुलुकबाट आएका नागरिकमा कोरोना सङ्क्रमणको उच्च जोखिम रहने भएकाले उनीहरुको पहिचानका लागि रातो चिन्ह राख्न लागिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनुभयो ।
गाउँपालिकाले बाहिरबाट आएका व्यक्तिहरुको तथ्याङ्कीय विवरण निकाले लगत्तै यो अभियान चालेको प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले जानकारी दिनुभयो । गाउँपालिकाले ३ सय ९३ घरमा रातो चिन्ह राख्न लागेको उहाँले बताउनुभयो ।
रातो चिन्ह राखिएको घरको पहिचान हुनुको साथै संक्रमणबाट सचेत पनि हुने र तथ्याङ्क सङ्कलनमा सहज हुने भट्टराईले बताउनु भयो ।
१८ चैत्र २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया