बुटवल ।
प्रदेश ५ सरकारले प्रदेशका प्रमुख तीन शहरमा कोरोना भाइरस परीक्षण प्रयोगशाला स्थापना गर्ने भएको छ ।
प्रदेश सरकार मन्त्रिपरिषदको सोमबार बसेको बैठकले भैरहवाको गहुँ बाली अनुसन्धान केन्द्र परिसर, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जको भेरी अस्पतालमा तीन दिनभित्र कोरोना भाइरस परीक्षण प्रयोगशाला स्थापना गरी शुरु सेवा सुरु गर्ने निर्णय गरेको बैठकपछि मुख्यमन्त्रीका प्रेस सल्लाहाकार शेरबहादुर केसीले जानकारी दिनुभयो ।
बैठकले १२ वटै जिल्ला प्रशासन कार्यालयमार्फत एम्बुलेन्स चालकका लागि व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) उपलब्ध गराउने भन्दै त्यसको व्यवस्थापन प्रमुख जिल्ला अधिकारीले गर्ने निर्णय गरेको छ ।
बैठकले किसानले खेती स्याहार्ने बेला भएकाले लकडाउनको अवस्थामा कृषि प्रयोजनमा प्रयोग हुने थ्रेसर, कम्बाइन मेशिन लगायतका उपकरण सञ्चालनका लागि गाउँपालिका र नगरपालिकाभित्र कार्यकारी अधिकृतले तथा जिल्लाभित्र र बाहिरका लागि प्रमुख जिल्ला अधिकारीले पासको व्यवस्था मिलाउने जिम्मेवारी प्रदान गरिएको प्रेस सल्लाहकारद्वारा जारी पे्रस नोटमा जनाइएको छ ।
यस्तै नेपाल–भारत सीमा क्षेत्रमा अलपत्र परेकालाई सम्बन्धित जिल्लामा समूह बनाइ पठाउने व्यवस्था मिलाउने र उनीहरुलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राखी सो अवधिभर खानपिनको व्यवस्था गर्न समेत निर्देशन दिएको छ ।
निर्माण क्षेत्रमा काम गर्ने मजदुरलाई घर पठाउने व्यवस्था गर्ने, त्यसका लागि सम्बन्धित निर्माण कम्पनीले गाडीको व्यवस्था गर्ने र यातायातका साधनको पासको व्यवस्था प्रमुख जिल्ला अधिकारीले मिलाउने समेत निर्देशन दिएको छ ।
१८ चैत्र २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया