७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

घरमा सेल्फ क्वारेन्टाइनमा कसरी बस्ने ? यस्ता छन् विज्ञहरुका ९ क्याप्सुल



मायादेवी अनलाइन, चार नम्बर ।
मुलुक यतिखेर कोरोना संक्रमणको जोखिम न्यूनिकरणको लागि लकडाउनमा छ । लक डाउनको बेला सर्वसाधारण यतिबेला घरमा सेल्फ क्वारेन टाइनमा छन् । संक्रमितको सम्पर्कमा आएका, संक्रमण जोखिममा रहेका वा संक्रमण फैलिरहेको स्थानबाट आएका व्यक्तिले निश्चित अवधिसम्म आफू बस्दै आएको स्थान वा कुनै निर्दिष्ट गरिएको स्थानलाई क्वारेन्टाइन भनिन्छ । तर क्वारेन टाइनमा बस्दा घरमा कसरी वस्ने धेरैलाई थाहा छैन । घरमा सेल्फ क्वारेन्टाइन बस्दा के कस्ता कुरामा ध्यान पुर्याउनु पर्दछ भन्ने विषयमा मायादेवी अनलाइनले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको इन्टरनल मेडिसिन विभाग प्रमुख प्राध्यापक डा सञ्जीव कुमार शर्मालाई सोधेको छ । के भन्नुहुन्छ त उहाँ ?

पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्ने। यो सम्भव नभए छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा एक मिटर दुरी राख्ने। आफू बस्ने कोठा आफैं सफा गर्ने।
छुट्टै बाथरूम, शौचालय प्रयोग गर्ने । सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम, शौचालय आफैं सफा गर्ने।
घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँ जस्तै भान्सा, शौचालयमा आवतजावत कम गर्ने।
काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रमा नजाने। सार्वजनिक यातायात प्रयोग नगर्ने र स्वास्थ्य संस्था जानबाहेक अरू काममा बाहिर ननिस्किने।
नियमित आफ्नो हात साबुनपानीले मिचीमिची २० सेकेन्डसम्म धुने वा हात सफा राख्न अल्कोहलयुक्त स्यानिटाइजर प्रयोग गर्ने। हात नधोई मुख, नाक, आँखा छुनबाट जोगिने।
आफूले प्रयोग गर्ने सामान घरका अन्य व्यक्तिसँग साझा रूपमा प्रयोग नगर्ने। प्रयोग गरेका सामान साबुन र पानीले सफासँग धुने।
अन्य व्यक्तिसँग प्रत्यक्ष सम्पर्क कम गर्ने। सम्पर्कमा आउनु परे कम्तिमा एक मिटर दुरी राख्ने। एउटै कोठामा पनि मास्क लगाएर मात्र सम्पर्क गर्ने।
खोक्दा वा हाछ्युँ गर्दा मुख र नाक टिस्यु पेपर, रुमाल या कुहिनाले छोप्ने। प्रयोग गरेका टिस्यु, रुमाल, मास्क र अन्य सामान छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्ने र साबुनपानीले हात धुने। धोएका लुगा घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्ने।
क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक जाँच्ने र दिइएको फारममा रेकर्ड गर्ने। दैनिकरूपमा १४ दिनको स्वास्थ्य स्थिति तोकिएको स्वास्थ्य निकायमा जानकारी दिने। क्वारेन्टाइनमा रहँदा अन्य केही समस्या भए तोकिएको स्वास्थ्य निकायबाट प्राप्त निर्देशन पालना गर्ने।

प्रकाशित मिति : १८ चैत्र २०७६ मंगलबार ००:००  ६ : १५ बजे