चन्द्रकान्त न्यौपाने, चारनम्बर ।
कपिलवस्तुको बाणगंगा–११ वरवा निवासी ढुङ्गाना परिवार अहिले निकै चिन्तित छ । मुलुक लकडाउनमा रहेका बेला धेरैलाई कोरोनाको महामारीबाट बच्ने मात्र चिन्ता छ भइरहेका बेला ती ढुंगाना परिवारलाई कोरोना के हो ? केके भइरहेछ केही पनि थाहा छैन । कारण यो परिवारमा एक जना सन्तान हराएको भयानक पीडा छ । उमेरले ५५ बर्ष नाघिसक्नु भएका बुबा अनन्तराम ढंगाना र ५२ बर्ष पार गरिसक्नु भएकी आमा शान्ता ढुंङ्गानाको खुसी छोरा हराएको पीडाले खोसिएको छ । उहाँहरु जतिखेर पनि मलिन मुद्रामा छोरो आउने बाटो ढुक्दै घरको पेटीमा बसिरहनु भएको छ ।
गत चैत्र २ गतेबाट आफ्नो कान्छो अर्थात् हरि ढुंगाना वेपत्ता छन् । हराएको १५ दिन नाघिसक्यो छोरो कहाँ छ ? के गर्दै छ ? कुन अवस्थामा छ ? देशभित्र छ या बाहिर ? कुनै अत्तोपत्तो नलाग्दा ती बुढा आमाबुबा गहिरो चिन्तामा हुनहुन्छ । मुलुक लकडाउन भएर देशभरीकै मानिस आतंकित छन् तर विचरा ती बुढा आमाबुबा छोरो भेटिने पर्खाइमा दिन काटिरहनु भएको छ ।
सेतै कपाल फुलेका बुबा । अनि, बुढ्यौली लागेर कमजोर शरीर लतारेर हिँडिरहनुभएकी ती आमा जतिखेर पनि छोरोको सम्झना गरिरहनुहुन्छ । उहाँहरुलाई अहिले पटक्कै भात रुच्दैन । जेनतेन पानी पिएर शरीर लतारिरहनु भएका आमाबुबाले आफ्नो छोरोलाई खोजिदिन घरमा आउने जाने सबैलाई विन्ति गरिरहनु भएको छ । तर पनि आधा महिनासम्म छोरोको अवस्थाको बारेमा कुनै अत्तोपत्तो नहुँदा उहाँहरु दिनप्रतिदिन कमजोर हुँदै जानु भएको छ ।
सारै मिलनसार, अरुको दुख देख्न नसक्ने, सामाजिक काम गर्न रुचाउने गुण भएको छोरो हराउँदा उहाँहरु दिग्भ्रममा मात्र पर्नुभएको छैन घटना रहस्यमय हुँदा चकित हुनुभएको छ । कल्पनासम्म नगरेको यस्तोे घटना कसरी भयो भनेर उहाँहरु त्यसैको खोजीमा रातदिन विताइरहनु भएको छ । चैत्र २ गते विहान परिवारसंग कुराकानी गरेको छोरो त्यो दिन साँझ घर नआउँदा त्यति धेरै चिन्ता भएन । तर जब रातिसम्म घर आएन अनि सम्पर्क गर्दा मोबाइल स्विच अफ भएपछि परिवारमा एक्कसी चिन्ता थपिएको वेपत्ता हरि ढुङ्गानाका दाजु भिष्मराज ढुंङ्गानाले मायादेवीलाई बताउनु भयो ।
आमा आमा शान्ता ढुङ्गानाले गहभरी आशु झाँर्दै भन्नुभयो, “बाबु चाँडे फर्कि आउन हामी तिमीलाई कुरेर बसेका छौँ । तिमीलाई मेरो माया लाग्दैन ? लाग्छ भने किन सम्पर्क गर्दैनौँ ? घर आउदैनौँ । बुबा पनि तिमी आउने बाटो हेरर बसिरहनू भएको छ । बाबु चाँडै आऊ है । चाँडो ।” बुबा अनन्तराम पनि यस्तै पीडामा हुनहुन्छ । उहाँले छोरोले गलत निर्णय नलिने भन्दै ढिलोचाँडो फर्केर आउनेमा विश्वास ब्यक्त गर्नुभयो ।
वेपत्ता हरिको बारेमा बुझ्दा दाजु भीष्मले पनि निकै चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “घरमा त्यस्तो केही थिएन । व्यक्तिगत रुपमा पनि हरि चरित्रहिन थिएन । सबैसंग मिलनसार । केही गर्नुपर्दछ भन्ने स्वभावको थियो । यस्तो घटना कसरी भयो आमी साँच्चिकै अचम्ममा परेका छौँ । सारै दुखि छौँ ।” उहाँले थप्नुभयो–‘अहिलेसम्म हरिको बारेमा केही पनि थाहा छैन । यतै गयो भनेर खोजविन गर्ने पनि कुनै आधार छैन ।’ यस विषयमा इलाका प्रहरी कार्यालय पिपरालाई जानकारी गराएर खोजबीन गर्न आग्रह गरेको बताउनु भयो ।
प्रहरीले आफूहरुलाई गराएको जानकारी अनुसार वेपत्ता हरि रुपन्देहीको सैनामैना ११ सालझण्डीसम्म गएको मोबाइल कन्ट्याकबाट पत्ता लागेको छ । त्यसपछि उनी कहाँ गए ? के गरिरहेका छन् प्रहरी पनि रनभुलमा छ । चैत्र २ गते साँझ साढे ५ बजेपछि हरिको मोबाइल स्विच अफ भएको दाजुले बताउनु भयो । दाजु भीष्मले अहिले मुलुक लकडाउन भएकाले खोजिकार्य हुन नसकेको बताउनु भयो । चैत्र १४ गतेपछि लक डाउन भएका आफूहरुको खोजी पनि रोकिएको दाजु भीष्मको भनाई छ । अब लक डाउनपछि पुनः खोजी गरिने परिवारले बताएका छन् । भाउजु कमला अर्याल पनि देवर हराएको पीडाले स्तब्ध हुनहुन्छ । उहाँले भावुक हुँदै भन्नुभयो’,–“१५ दिनसम्म देवर बाबु नआउँदाको पीडा कसरी भनूँ ।” प्रहरीले पनि उनको खोजी जारी रहेको बताउँदै लक डाउनपछि थप खोजी गर्ने बताएको छ ।
साथीहरु के भन्छन् ?
वेपत्ता हरि ढुंङगानाका साथीहरु पनि यो घटनाले चिन्तित छन् । सिद्धार्थ क्याम्पस बुङचीका स्ववियू सभापति शुशिल खत्री पनि निकै चिन्तित हुनहुन्छ । क्याम्पसका स्ववियू सदस्य समेत रहेका ढुंङ्गाना ब्यावहारिक र पाका भएको भए पनि यो घटनाले आफूलाई अचम्ममा पारेको बताउनु भयो ।
संगठनमासंगै काम गरेका चन्द्रकान्त पोख्रेलले पनि यो घटना असोचनीय भएको बताउनु भयो । उनी एकाएक यसो गर्ने प्रकृतिका ब्यक्ति होइन् के कारणले उनी वेपत्ता छन् ? कारण खोजिरहेका छौँ पोख्रेलले भन्नुभयो । यस्तै अन्य साथीहरुले पनि हरि हराएको विषय रहस्यमय रहेका बताएका छन् । उनीहरुले खोजी गरिदिन पनि सबैलाई अपिल गरेका छन् । हराएका केही साथीहरुले मिडियाको कारण पनि उनी फर्कनमा समस्या पारेको बताए । हरि हराएको एक दुई दिनमै अनलाइन मिडियामा खबर छ्यापछ्याप्ती भए पछि पनि त्यसले समस्या पारेको भन्दै परिवारका सदस्यले यस्ता विषयमा संवेदनशिल बन्न संचारमाध्यमलाई आग्रह गरेका छन् ।
१७ चैत्र २०७६ सोमबार ००:००
14
Shares
प्रतिक्रिया