मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगामा सोमबार साँझसम्म १ जनालाई मात्र क्वारेनटाइनमा राखिएको छ । कोरोना भाइरसको आंशका लागे पछि एक जनालाई वाणगंगाको क्वारेनटाइनमा राखिएको हो । नेपालमा यो भाइरसको मुख्य जोखिम विदेशबाट आएका नागरिकबाट देखिएको छ । हालसम्म ५ जनामा भटिएको यो भाइरसका संक्रमित सबै विदेशबाट आएका हुन् ।
यो बेला केन्द्र सरकारले विदेशबाट आउने नागरिकलाई उच्च निगरानी गर्दै अनिवार्य क्वारेनटाइनमा राख्न प्रदेश र स्थानीय सरकारलाई निर्देशन जारी गरिरहेको छ ।
मोबाइलको ‘ब्याकटोन’ देखि ‘आमसञ्चार’सम्मले विदेशबाट आउने नागरिकलाई अनिवार्य क्वारेनटाइनमा बस्न भनिरहेका छन । तर, स्थानीय सरकारको रुपमा रहेका कतिपय स्थानीय तह विदेशबाट आउने नागरिकलाई अनिवार्य क्वारेनटाइनमा राख्न असफल देखिएका छन । त्यो मध्येको एक हो कपिलवस्तुको वाणगंगा ।
अघिपछि शिक्षा, स्वास्थ्यका हिसाबले जिल्लाकै सबैभन्दा अग्रस्थानमा आउने वाणगंगा यो विषयमा चुकेको हो । विश्वभर तीव्र गतिमा महामारीको रुप लिदै गरेको कोरोनाको संक्रमणलाई कम गर्नका लागि विदेशबाट आउने नागरिकलाई अनिवार्य क्वारेनटाइनमा राख्न नसकेर वाणगंगा चुकेको छ ।
नगरपालिकाले अहिलेसम्म १ जनालाई मात्र क्वारेनटाइनमा राख्न सफल भएको छ । क्वारेनटाइनमा बसेका वाणगंगा–५ झण्डा निवासी ती व्यक्तिलाई गाउँलेकै जोडबलले क्वारेनटाइनसम्म लगिएको थियो । सरकारले निर्देशन नै जारी गरेर विदेशबाट आउने नागरिकलाई अनिवार्य क्वारेनटाइनमा राख्न सक्छ । विडम्वना वाणगंगा आफुले यो काम नगरेर गाउँलेको जोडबलबाट क्वारेनटाइनमा राख्न बाध्य भैरहेको छ’,–“वाणगंगा ३ निवासी एक नेताले मायादेवी अनलाइनसंग भने ।”
भारतीय सिमावर्ती कपिलवस्तु खुल्ला सिमा नाकाका कारण कोरोनाको उच्च जोखिममा छ । नगरका हजारौं नागरिक रोजगारका लागि भारत लगायत विभिन्न देशमा छन् । अधिकांश व्यक्ति कोरोनाको संक्रमण ‘भय’ले घरमा आएका छन् । सरकारले विदेशबाट आएका जुनसुकै व्यक्तिलाई अनिवार्य क्वारेनटाइनमा राख्न भनेपनि कसैले ‘टेरपुच्छर’ नलाएको ती नेताले भने ।
११ वडा रहेको वाणगंगाको कूल जनसंख्या लगभग १ लाखको हाराहारीमा छ । नगरपालिकाले कोरोना भाइरसको संक्रमण रोकथामका लागि विदेशबाट आउने नागरिकको तथ्याङ्क लिन आजभन्दा चारदिन पहिलाबाट मात्र थालेको छ । सोमबारसम्म २ सय बढी व्यक्ति भारत लगायत तेस्रो मुलुकबाट वाणगंगा आएको तथ्याङ्क निस्किएको छ । त्यो पनि अपूर्ण रहेको नगरपालिकाका एक कर्मचारीले नाम नबताउने शर्तमा भने । नगरपालिकाका कतिपय वडाले अहिलेसम्म कति नागरिक कहाँ कहाँबाट आए तथ्याङ्क निकाल्न सकिरहेका छैनन । कोरोनाको भयले वडाध्यक्ष नै फिल्डमा जान डराएपछि तथ्याङ्क निस्कन नसकेको ती कर्मचारीले बताए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीलाई यो विषयमा बुझ्दा नगरले विदेशबाट आउने नागरिकको तथ्याङ्क निकालिसकेको दाबी गर्नुहुन्छ । जवकी नगरपालिकाले तथ्याङ्क निकाल्न थालेको यो बेला मुलुक ‘लकडाउन’मा परेको एक हप्ता भएको छ । यो बेला विदेशबाट आउने नागरिक नगरभित्र आउन पाएका छैनन भने लकडाउनको तेस्रो दिन सरकारले भारतीय सिमा नाकामा अड्किएका नागरिकलाई नेपाल भित्त्राउनका लागि केही घण्टा सिमा खुला गरेको थियो । त्यो बेला २७ जना नागरिक कपिलवस्तु भित्रिएका थिए । ती सबै अहिले कृष्णनगर र शिवराजका विभिन्न क्वारेनटाइनमा छन ।
मुलुक लकडाउन भएको अवस्थामा विदेशबाट आउने नागरिकको तथ्याङ्क निकाल्न खोज्नुलाई नगरबासीले ‘बेला न कुवेलाको पञ्चेबाजा’ को रुपमा टिप्पणी गर्छन । वाणगंगाका एक नेताले जनताबाट तीव्र आक्रोस आएपछि देखाउँनकै लागि यो नाटक रचेको गम्भिर टिप्पणी गर्छन् । नगरकै सत्तापक्षका ती नेताले नाम उल्लेख नगर्ने शर्तमा भने’,–‘यति कमजोर जनप्रतिनिधि कही देखेको थिएन । विश्वभर कोरोनाको यस्तो भयावह स्थिती छ, नेपालमा पनि संक्रमण देखिईसकेको छ । विदेशबाट आउने नागरिकमा यसको जोखिम तीव्र छ तर, वाणगंगाले बल्ल विदेशबाट आएका नागरिक खोज्दैछ ती नेताले आक्रोसित मुद्रामा भने’,–‘अहिले तथ्याङ्क निकाल्नुको कुनै तुक छैन ।’
नगरपालिकाले विदेशबाट आउने नागरिकको तथ्याङ्क निकाल्न ढिला गरेको सर्वत्र विरोध भएपनि जेनतेन तथ्याङ्क निकालेका व्यक्तिलाई पनि क्वारेनटाइनमा राख्न सकेको छैन । जसले संक्रमणको जोखिम उच्च छ भन्ने देखाउँछ । नगरपालिकाका नगर प्रवक्ता विष्णु पौडेल यस विषयमा विदेशबाट आएका नागरिकलाई अनिवार्य क्वारेनटाइनमा राख्नुपर्ने स्थिती नभएको बताउँनुहुन्छ । लकडाउन पछि नगरमा विदेशबाट कुनै नागरिक आएका छैनन, त्यसभन्दा अगाडी आएकाहरु घरपरिवार, छरछिमेकसंग घुलमिल भैसके उहाँले भन्नुभयो’,–“अब क्वारेनटाइनमा राख्न कसरी सम्भव हुन्छ ? सबैलाई क्वारेनटाइनमा बसाल्न सकिने कुरा पनि भएन ? त्यसो हुँदा हामीले सबैलाई अनिवार्य होम क्वारेनटाइनमा बस्न भनेका छौं ।”
नगर प्रवक्ताले यसो भनिरहँदा विदेशबाट आएका नागरिक अनिवार्य घरमा बस्न छाडेर गाउँ चाहर्न थालेपछि गाउँलेहरु त्रसित बनेका घटना पनि बाहिर आउन थालेका छन । वाणगंगा–३ राजापानीका एक व्यक्ति भारतबाट आएको दिनदेखि नै गाउँ गाउँ हिडेको र पार्टी दिएको विवरण आइरहेको छ । ती युवक अहिले कोरोना आशंका लागेपछि उपचारका लागि बुटवल पठाइएको छ ।
वाणगंगाको यो ढिलासुस्तिपना देखेर नगरबासी आजित भैरहेका छन भने आफै सचेतना अपनाउन थालेका छन । कोरोनाको संक्रमण त्रासले नगरको मुख ताक्न छाडेर नगरबासी गाउँ गाउँका सडक रोक्ने प्रयास थालेका छन् । विदेशबाट आउने नागरिकलाई रोक्ने र दैनिक आवातजावत गर्ने बाटो बन्द गर्ने अभियानमा आफुहरु लागेको वाणगंगा झुँगाका रविन्द्र सेनले बताउनुभयो । अहिले नगरका दर्जनौं भित्रि सडक प्राय बन्द छन । तर, सरोकारवालाहरु एम्बुलेन्स लगायत अत्यावश्यकीय सेवाका सवारीसाधन चल्न नसक्ने गरी सडक छेकवार गर्नु राम्रो नभएको बताउँछन ।
वाणगंगा नगरले कोरोनाको जोखिम न्यूनिकरणमा सोचेजस्तो काम गर्न नसकेको नेपाली कांग्रेसका नेता दोलकराम घिमिरेको टिप्पणी छ । ‘यो नगर अरु पालिकालाई पनि सिकाउने नगर हो तर, त्यो त हुन सकेन् सकेन्, सामान्य विषयमा पनि काम गर्न नसकेर चुक्यो, नेता घिमिरे प्रश्न गर्दै भन्नुहुन्छ’,– “खुलेयाम विदेशबाट आएकाहरु हिडिरहेका छन्, ती व्यक्तिलाई क्वारेनटाइनमा किन राख्न नसकेको ?”
मुलक लकडाउनको अवस्थामा रहेपछि कालोबजारीका श्रृङ्खला रोक्न नगर होइन् स्वयम कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल तातिनुभएको छ । नागरिकले यो विषयमा पनि गम्भिर प्रश्न उठाइरहेका छन् । नगरबासीहरु कालोबजारीको चरम गुनासो गर्दै मिडियाको ढोका ढकाउन थालेपछि मायादेवी रेडियो, अनलाइन र टिभीले आइतबार मात्र ग्यास लगायतको क्षेत्रमा स्थलगत रिर्पोटिङ गरेको थियो ।
१७ चैत्र २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया