भैरहवा ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमण परीक्षणका लागि सरकारले प्रदेशस्तरीय प्रयोगशाला स्थापना गर्ने भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना परीक्षणका लागि सातै प्रदेशमा प्रयोगशाला स्थापनासहित आवश्यक विज्ञ जनशक्तिसमेत तोकेको छ।
यसैअन्तर्गत प्रदेश ५ मा विष्णु रायमाझी, रामबहादुर खड्का र खेमध्वज कार्कीलाई विज्ञका रूपमा जिम्मेवारी तोकेको छ । सरकारले प्रदेश ५ को भैरहवास्थित गहुँबाली अनुसन्धान केन्द्रको परिसरमा प्रयोगशाला निर्माणका लागि तयारी गरेको छ ।
सामाजिक विकास मन्त्रालय, स्वास्थ्य विभाग प्रमुख डा। उमाशंकर चौधरीले भैरहवाको गहुँबाली अनुसन्धान केन्द्रको भवनमा आवश्यक काम सुरु भइसकेको जानकारी दिए । उनले भने, “प्रयोगशालाका लागि आवश्यक सरसफाइ, टायल बिछ्याइ र रङरोगनको काम भइरहेको छ। मेसिन आउनासाथ जडानको काम सुरु गर्छौं ।”
यो अन्य प्रयोगशालाको उपकरण जस्तो नभई रियल टायम, पिसिआर र किट मेशिनलगायत उपकरण जडान गरेपछि प्रयोगशाला सञ्चालनमा ल्याउन सकिने प्रमुख चौधरीले जानकारी दिए ।
प्रयोगशाला सञ्चालनका लागि हाल तोकिएका तीन विज्ञ जनशक्तिबाटै काम सुरु गरिने र संक्रमणका बिरामीको चापअनुसार आवश्यक जनशक्ति व्यवस्थापन हुने जानकारी उनले दिए ।
चीनबाट प्राप्त उपकरणको सहायतामा सातै प्रदेशबाट परीक्षण सुरु गर्ने तयारी सरकारले थालेको हो । रासस
प्रतिक्रिया