बुटवल ।
बुटवलको कोरोना विशेष अस्पतालमा भर्ना भएकै अवस्थामा आइतबार मृत्यु भएका एक व्यक्तिमा कोरोना भाइरस नेगेटिभ देखिएको छ ।
दुबईबाट फर्के लगत्तै कोरोनाको आशंकामा सैनामैनाका बाबुराम थापालाई बुटवलको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । उनको आइतबार मृत्यु भएपछि विभिन्न शंका उत्पन्न गराएको थियो ।
टेकु अस्पतालले स्वाब परीक्षण गरिएका थापाको प्रारम्भिक रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको हो । स्वाबको पुन परीक्षण गरेर अन्तिम रिपोर्ट दिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुना झाले बताइन् । उनले सोमबार नै आउने भए पनि अझै केही समय लाग्ने बताइन् ।
रुपन्देही सैनामैनाका बाबुराम थापाको कोरोना विशेष अस्पतालको आइसोलेशनमा आइतबार मृत्यु भएको थियो ।
चैत ६ गते नेपाल आएका थापा १३ गतेदेखि आइसोलेशनमा थिए । उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि आइसीयूमा राख्ने तयारी हुँदै गर्दा उनको आइतबार दिउँसो मृत्यु भयो । उनको शव कोरोना विशेष अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया