८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कोरोना त्रासः विजयनगरले निकाल्यो विदेशबाट फर्केकाहरुको विस्तृत विवरण



घनश्याम भर, विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले गाउँपालिका बाहिर वा स्वदेश तथा विदेशबाट आएका व्यक्तिहरुको संख्यात्मक विवरण निकालेको छ । स्वदेश, छिमेकी देश भारत र अन्य देशबाट गरी गाउँपालिकामा ३ सय ९३ जना आएका छन् ।
स्वदेशबाटै ४७ जना, भारतबाट ३ सय ४० जना, मलेसियाबाट ५ जना र नाइजेरियाबाट १ जना आएका हुन् । जसमा ३ सय ८३ पुरुष र ७ जना महिला रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले जानकारी दिनुभएको छ ।
कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिए पछि हालसम्म आएका व्यक्तिहरुको संख्यात्मक विवरण निकालिएको भट्टराईले बताउनुभयो । गाउँपालिकामा स्थापना गरिएको हेल्पडेस्क र क्वारेन्टाइन स्थलमा गई स्वास्थ्य परिक्षण गराउन गाउँपालिकाले अनुरोध गरेको छ । कुनै शंकास्पद लक्षण देखिएको खण्डमा क्वारेन्टाइनमा बस्न अन्य व्यक्तिहरुलाई आफ्नो घरमै सुरक्षितसाथ बस्न जनाइएको छ ।
यस संकटको समयमा नेपाल सरकारले चालेका कदममा सहयोग गर्नु हामी सबैको दायित्व भएको भन्दै गाउँपालिकाले सबैलाई अपिल गरेको छ । गाउँपालिकाबाट यस विपत्तिको सामना गर्न हरसम्भव प्रयास गरिएको जनाएको छ । गाउँपालिकाले अप्रमाणित समाचार र अफवाहको पछि नलागी अधिकारिक समाचार र जानकारी मात्र लिन अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६ सोमबार ००:००  ७ : ३५ बजे