काठमाडौँ ।
सरकारले लकडाउन अझै ८ दिन लम्ब्याउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले थप ८ दिनका लागि लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको आइतबार बसेको बैठकलेले अझैँ केही साता लकडाउन थप्ने निर्णय मन्त्रिपरिषदमा पठाएको थियो ।
यसअघि सरकारले कोरोना भाइरसको महामारी फैलिने संकेत देखिएसँगै चैत ११ देखि १८ गतेसम्मका लागि सिंगो नेपाल लकडाउन गरेको थियो । देशका विभिन्न ठाउँमा कोरोना संक्रमित भेटिएसँगै लकडाउन थप आठ दिनका लागि लम्ब्याइएको हो । लकडाउनको अवधिमा कसैलाई पनि लापरबाही नगर्न र बाहिर ननिस्कन सरकारले देशबासीलाई आग्रह गरेको छ । यस्तै यो परिस्थितिमा विचलित नहुन र नआत्तिन पनि सरकारले आग्रह गरेको छ ।
यस्तै सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रिल १५ अर्थात आउँदो ३ वैशाखसम्म लम्ब्याएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले यो निर्णय गरेको हो ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्रा्ष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए ।
१६ चैत्र २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया