८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

‘लक डाउन’को मारमा परेका विपन्न परिवारको भान्छाभान्छामा वडाध्यक्ष गिरी



मायादेवी अनलाइन, चारनम्बर ।
मुलुक कोरोनाविरुद्धको लडाइमा रहेका बेला कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष विष्णु गिरी अति विपन्न परिवारको भान्छाभान्छामा पुग्नु सुरु गर्नुभएको छ ।
‘लक डाउन’को अवधिमा ज्याला मजदुरी गरी गुजारा चलाई रहेका परिवारलाई विहान साँझ छाक टार्न समेत मुस्किल भएको देखेपछि वडाध्यक्ष गिरी प्रत्यक्ष रुपमा उनीहरुको भान्छामा पुग्नु भएको हो ।
विपन्नहरुलाई प्रत्यक्ष राहत बोकेर हिड्नु भएका गिरीले आइतबार वडाका मोतिपुर, डाँडा, धैरेनीडाँडा, बनगाई र कोइली बनगाईका ५० परिवारलाई दैनिक उपभोग्य सामग्री बाँड्नु भएको छ ।
उहाँले हरेक परिवारलाई ५ किलोको दरले चामल र एकएक किलोको दरले दाल, नुन र तरकारी बाँड्नु भएको हो । यस्तै बाँकी ३० विपन्न घरमा सोमबार भोली पुगेर यही अनुपातमा राहत दिने उहाँले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।
लक डाउनको अवधिमा वडाभित्रका करिब ८० परिवारलाई छाक टार्न मुस्किल भएको तथ्यांक आफूले पाएपछि तरुन्त ती परिवारमा प्रत्यक्ष राहतस्वरुप दैनिक उपभोग्य सामग्री बोकेर आफू पुगेको उहाँको भनाई छ ।
बजेट अभाव भए पनि यस्तो बेला अति विपन्न ती परिवारलाई सहयोग गर्नु आफ्नो मुल दायित्व भएकाले बिभिन्न संघसस्थाबाट सहयोग लिएर ती परिवारमा पुगेको उहाँले बताउनु भयो ।
विपत्मा सहयोग गर्ने सबै टोल विकास र अन्य संघसंस्थालाई पनि धन्यबाद दिँदै उहाँले यो विपत्तिमा वडाबासीलाई कत्ति पनि विचलित नभई डटेर सामना गर्न आग्रह गर्नुभएको छ । यो बेला धैर्य गरेमा नै कोरोनाविरुद्धको लडाइमा जित हासिल गर्न सकिने भन्दै आफूले वडाबासीको समस्यामा कुनै कसर बाँकी नराख्ने पनि गिरीले प्रतिवद्धता जनाउनु भयो ।
राहत पाए पछि अति विपन्न परिवार खुसी भएका छन् । उनीहरुले एक किलो चामल दालले पनि ठुलो राहत मिलेको बताउँदै वडाध्यक्षलाई धन्यबाद दिएका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७६ आइतबार ००:००  ७ : १० बजे